• १२ मंसिर २०८१, बुधबार

बाँकेमा सीमास्तम्भको निरीक्षण

blog

बाँकेको नरैनापुरमा रहेका सीमास्तम्भको निरीक्षण गर्दै नेपाल र भारतका सुरक्षा अधिकारी। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ २६ गते। बाँकेका सुरक्षा प्रमुख र सीमावर्ती भारतीय सुरक्षा अधिकारीले यहाँस्थित पूर्वी क्षेत्र नरैनापुरको नेपाल भारत नाकाको स्थलगत अनुगमन गरेर सीमास्तम्भ र सुरक्षा अवस्था बारे जानकारी लिएका छन्। 

जिल्लाको अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायको उपस्थिति कम रहने गरेको र दुर्गम मानिने पूर्वी क्षेत्रको नरैनापुरसँग जोडिएको नेपाल–भारत नाकाको दुवै देशका अधिकारीले निरीक्षण गरेर अवस्था बारे जानकारी लिएका हुन्। 

सीमा स्तम्भको अवस्था बुझ्न र अवैध कारोबार रोक्न संयुक्त अनुगमन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो। 

नरैनापुरस्थित नेपाल–भारत सिमाक्षेत्रको निरीक्षण गर्ने क्रममा बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्र प्रहरीका एसपी विमल डाँगी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक योगेन्द्र खड्का, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह र भारतको सशस्त्र सीमा सुरक्षा बलका अधिकारीको सहभागिता थियो। 

सीमा नाकामा नै तस्करी रोक्नु पर्ने सुझाव दिँदै स्थानीयले नेपालमा उत्पादित खाद्यान्नलाई नियन्त्रणमा लिएर दुःख दिने कार्य भइरहेको गुनासो गरेका छन्। 

बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले नेपालमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठिक नभएको बताउँदै सीमामा नै तस्करलाई नियन्त्रणमा लिन र स्थानीय किसानलाई पीडा हुनेगरी काम नगर्न स्थानीय सुरक्षा अधिकारीलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो। 

सुरक्षा अधिकारीको टोलीले जिल्लाको दुर्गम क्षेत्रको नेपाल–भारत नाकाको दसगजामा रहेका सीमास्तम्भको अनुगमन गर्दै सीमास्तम्भको संरक्षणमा विशेष जोड दिएका छन्। 

नरैनापुरको नाकामा छोटी भन्सार पुनः स्थापना नहुँदा राजस्व चुहावट र तस्करी बढेको गुनासो स्थानीयले गरेका छन्।