• १२ साउन २०८१, शनिबार

अनधिकृत औषधी बेच्ने फार्मेसी सञ्चालक पक्राउ

blog

फार्मेशीमा अनुगमन गर्दै जिल्ला अनुगमन समिति । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, जेठ २५ गते ।
फार्मेसीमा बसेर अनधिकृत रुपमा औषधी बिक्री गर्ने दुई जनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानीगाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसेर औषधी बिक्री गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधी बिक्री गर्दै आएका रामहरि आचार्य छन् । जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्स पढेर पनि औषधी बिक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।

आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् । अर्यालका अनुसार अर्कैको नाममा दर्ता भए पनि केवट र आचार्यले आफ्नो अध्ययनभन्दा बाहिर गएर औषधी जस्तो नागरिकको स्वास्थ्यसँग सम्बन्धित विषयमा खेलवाड गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।

पक्राउ परेका आचार्य फार्मेसी सञ्चालक भण्डारीका ज्वाइँ नाता पर्ने व्यक्ति भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुगमन समितिले दुबैजनालाई अनुसन्धानपछि प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको छ ।

अनुगमन समितिले आयशा र विनायकसँगै त्यस क्षेत्रमा रहेका इमान, नूर, विन्दबासिनी गरी पाँच वटा फार्मेसीमा अनुगमन गरेको थियो । स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख डा.गौरव ढकालले अन्य फार्मेसीमा गैरकानुनी कार्य नभेटिए पनि म्याद गुज्रिएका औषधीहरु व्यवस्थापन गर्ने तरिका सही नपाइएपछि तत्काल त्यसलाई सुधार्न निर्देशन दिइएको जानकारी दिनुभयो । ‘‘आफ्नो विषय बाहिर गएर अनधिकृत व्यक्ति राखेर औषधी बिक्री गर्न कानुनले बर्जित गरेको छ’’, उहाँले भन्नुभयो, ‘‘पक्राउ परेका ती व्यक्तिमाथि कारबाही हुन्छ ।’’

यस्तै, त्यस क्षेत्रमा रहेका पाँचवटा होटल तथा रेष्टुरेन्टमा समेत अनुगमन गरिएको थियो । अनुगमनका क्रममा नवीकरण नभएका, मूल्यसूची अपडेट नगरिएको र सरसफाइमा ध्यान नदिएको पाइएपछि सुधार गर्न निर्देशन दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले नवीकरण नभएका होटल तथा रेष्टुरेन्टलाई एक हप्ताभित्र नवीकरण गर्न निर्देशन दिइएको बताउनुभयो ।

जिल्ला प्रशसन कार्यालयमा यहाँका फार्मेसी र होटल तथा रेष्टुरेन्टबारे स्थानीयले लिखित र मौखिक उजुरी दिएका थिए । उजुरीपछि तत्काल अनुगमन गर्दा अनधिकृत व्यक्तिले औषधी बिक्री गर्ने गरेको पाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अर्याललका अनुसार प्रशासनमा लुम्बिनी प्रादेशिक लगायत भैरहवा–बुटवलमा रहेका ठूला अस्पतालका अगाडि संचालित फार्मेसी, क्लिनिक र होटल तथा रेष्टुरेन्ट दर्ता, नविकरण नभएको, राजश्व नतिरेको, अनुमति नलिएको, होटलले सरसफाइ र गुणस्तरमा ध्यान नदिएको, दररेट नराखी बढी मूल्य लिएकोलगायतका उजुरी परेका थिए । उहाँले भन्नुभयो, ‘‘हामीले अनुगमनलाई निरन्तर गरेका छौं, गैरकानुनी काम गर्ने जो कोही कानुनको दायरामा आउँछ ।’’

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको संयुक्त अनुगमन टोलीमा स्वास्थ्य कार्यालय प्रमुख ढकाल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख लक्ष्मी शर्मा, आन्तरिक राजस्व कार्यालयका अधिकृत धनिश्वर अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत महेन्द्र चौधरी, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका सदस्य धर्मवीर शर्मा, उपभोक्ता मञ्च नेपालका पुरुषोत्तम नेपाललगायतको सहभागिता थियो ।