• १२ साउन २०८१, शनिबार

ठग ठेकेदार: समय सकियो पुल निर्माण सुरु भएन

blog

पुल निर्माण गर्ने अवधि सकिन्न लाग्दा सम्म ठेकेदारले काम नै सुरु नगरेको उत्तर गङ्गा नदी । तस्विर: गाेरखापत्र

जयमान बुढा मगर

रुकुमपूर्व, जेठ २५ गते । सहिद मार्ग अन्तर्गत पर्ने रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकामा दुई सडक पुल निर्माण कार्य अवधि सकिन्न लाग्दासम्म पनि काम सुरसार नै गरिएको छैन । दाङ–रोल्पा–रुकुमपूर्व–डोल्पा सहिद मार्ग खण्डमा पर्ने पुथाउत्तरगङ्गा–१० र ११ मा पर्ने उत्तर गङ्गा नदी र सोही गाउँपालिकाको १३ मा पर्ने घट्टेखोलाको सडक पुल निर्माण कार्य ठेकेदारले सुरु गर्न सकेको छैन । 

यी दुई पुल निर्माणको लागि एउटै ठेक्का अन्तर्गत छ । उक्त ठेक्का मृत सञ्जीवनी निर्माण सेवाले पाएको छ । दुई पुल नै तीन वर्ष भित्र काम सक्ने गरी २०७८ फागुन ११ गतेबाट काम सुरु गर्ने भनी ठेकेदारसँग सहिद मार्ग आयोजना कार्यालय रोल्पासँग सम्झौता गरिएको थियो । 

अब आउँदो फागुन महिनामा पुल निर्माण गरी सक्ने अवधि सकिँदै छ तर, दुई वर्ष पूरा हुँदा सम्म ठेकेदारले काम सुरु नगरेको सहिद मार्ग आयोजना कार्यालय रोल्पाका प्रमुख नेत्रप्रसाद देवकोटाले बताउनुभयो । कार्यालयबाट ठेकेदारलाई ताकेता गरी राखे पनि विभिन्न कारण देखाउँदै आफ्नो कामबाट पन्छी रहेको प्रमुख देवकोटाले जानकारी दिनुभयो । उत्तर गङ्गा नदीमा ८० मिटर लम्बाइ र घट्टेखोलामा २५ मिटर लम्बाइको सडक पुल निर्माण हुने भएको हो । 

यी दुई पुल नहुँदा हरेक वर्ष असारदेखि कात्तिक सम्म सवारी आउजाउमा बन्द हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । अति आवश्यक पर्ने सामग्री ढुवानी र मान्छे आउजाउमा हरेक बर्खा याममा सास्ती बेहोर्दै आएको अध्यक्ष घर्ती मगरले बताउनुभयो । ठेकेदारको अटेरीले पुल निर्माण गर्ने म्याद सकिन लाग्दा समेत काम सुरु नगरेकोमा अध्यक्ष घर्ती मगरले दुखेसो पोख्नुभयो । अध्यक्ष घर्तीमगरले भन्नुभयो, “अटेरी गर्ने ठेकेदारलाई नियमन गर्ने निकायले कारबाही गर्ने भए समयमै काम गर्ने थिए ।” 

यी दुई पुल नभएकै कारण १४ वडा रहेको सिङ्गो पुथाउत्तरगङ्गा गाउँपालिका निवासीले निर्माण सामग्री, उपभोग्य वस्तु ढुवानी र मान्छे आवतजावतमा सारै कष्ट भोगिराखेको पुथाउत्तरगङ्गा–१४ का तेजेन्द्र शेर्पालीले बताउनुभयो ।