• १३ साउन २०८१, आइतबार

विषादी परीक्षण गर्न एक जना प्राविधिक

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, जेठ २५ गते । नेपालगन्जको प्रमुख तरकारी मन्डी (बजार) रानीतलाउमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालयका एक जना प्राविधिक सहायकको भरमा सञ्चालन भइरहेको छ । भारतबाट आउने ठुलो परिमाणको तरकारी र फलफूलमा विषादी परीक्षणका लागि केन्द्रीय तरकारी मन्डी रानीतलाउमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जनशक्तिको अभाव देखिएको छ । 

केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जनशक्तिको अभावले तरकारी तथा फलफूलका सीमित नमुना मात्रै परीक्षण हुने गरेको बताइएको छ । अधिकांश तरकारी र फलफूल परीक्षणबिनै बजारमा बिक्री भइरहेको देखिन्छ । स्रोतसाधन र जनशक्तिको अभावमा तरकारी तथा फलफूलका सीमित नमुना मात्रै परीक्षण गर्न सकिएको प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिनुभयो ।

प्रयोगशालामा जनशक्तिको अभावले बजारबाट तरकारी तथा फलफूलका नमुना सङ्कलनमा समेत समस्या भइरहेको जनाउँदै उहाँले अधिकांशको परीक्षण हुन नसक्दा किरा तथा रोगबाट जोगाउन र उत्पादन बढाउन विषादी प्रयोग गरेको तरकारी सिधै बजारमा बिक्री भइरहेको बताउनुभयो । प्रयोगशालामा प्राविधिक सहायक चौधरी र एक जना कार्यालय सहयोगी मात्र छन् । जनशक्ति थप्न पटक पटक माग गरिए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । बालीमा प्रयोग हुने विषादीका प्रकार, मात्रा र बाली टिप्ने समयलाई बेवास्ता गरेर विषादीको प्रभाव नघट्दै टिपेर बजारमा पठाउने गरेको पाइएको छ । 

तरकारी तथा फलफूलजन्य वस्तुमा विषादीको अवशेष धेरै भेटिने गरेको प्राविधिक सहायक चौधरीको भनाइ छ । भारतबाट आयातित तरकारी तथा फलफूल, रानीतलाउ तरकारी मन्डी, बिपी चोक तरकारी बजार र विभिन्न चोक तथा बजारमा ठेलामा राखेर बिक्रीवितरण हुँदै आएको छ । प्राविधिक सहायक चौधरीका अनुसार ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएका तरकारी तथा फलफूल स्वास्थ्यका लागि हानिकारक भएकाले उपभोग गर्न हुँदैन । त्यस्तै ३५ देखि ४५ प्रतिशतबिचको मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल केही दिन कुरेर मात्रै प्रयोग गर्न सकिन्छ । 

शून्यदेखि ३५ प्रतिशतसम्म विषादी भेटिए तरकारी तथा फलफूल प्रयोग गर्न तथा बिक्रीका लागि योग्य मानिन्छ । विभिन्न जिल्लामा उत्पादन भएका र भारतबाट आयात गरिएका तरकारी तथा फलफूलजन्य वस्तुको परीक्षण गर्दा विभिन्न नमुनामा विषादी भेटिएको प्रयोगशाला एकाइले जनाएको छ ।