• २३ असार २०८२, सोमबार

'सिआन'लाई एक लाख पुरस्कार

blog

हेटौँडामा रहेको सिआन पुन:स्थापना केन्द्र । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, जेठ २२ गते । लागूऔषध दुर्व्यसनीमा फसेका युवाहरूको सुधार तथा उपचारात्मक कार्यमा सक्रिय मकवानपुरको 'सिआन' पुन:स्थापना केन्द्रलाई एक लाख राशिसहित सङ्घीय सरकारको गृह मन्त्रालयले पुरस्कृत गर्ने भएको छ । देशभरका लागुऔषध दुर्व्यसन उपचार तथा पुन:स्थापनाको कार्य सम्पादनका आधारमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं. ९ लामसुरेस्थित सिआन पुन:स्थापना केन्द्रलाई गृहले पुरस्कृत गर्न लागेको हो । 

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बागमती प्रदेशबाट सिआन पुन:स्थापना केन्द्रसँगै गण्डकी प्रदेशबाट बागलुङ जिल्लाको नयाँ जीवन पुन:स्थापना केन्द्रलाई पनि एक लाख राशिसहित पुरस्कृत गर्ने जनाएको छ । 

दुर्व्यसनमा फसेका युवालाई परामर्श तथा उपचार र सशक्तीकरणमा सक्रिय सिआन देशैभरीमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले छनोट गरेको हो । गृह मन्त्रालयले अन्तर्राष्ट्रिय लागु औषध विरुद्धको दिवसको अवसरमा आगामी असार १२ गते (जुन २६) मा पुरस्कार वितरण गर्नेछ । 

सिआन पुन:स्थापना केन्द्रमा अहिले ५० जनाले उपचारात्मक सेवा लिइरहेको सिआनका सञ्चालक सौजन डिसिले जानकारी दिनुभयो । सिआनले उपचार र परामर्शसँगै जीविकोपार्जनका विभिन्न क्रियाकलापहरू सञ्चालन गरी युवा सशक्तीकरणको काम गरिरहेको छ । 

सेवाग्राहीले तिरेको मासिक १८ हजार रुपियाँ शुल्कबाटै केन्द्र चलेको छ । केन्द्रले वार्षिक दुई जनालाई निःशुल्क ६ महिने आवासीय सेवा उपलब्ध गराउने गरेको पनि गरेको छ। यहाँ बसेर लागूऔषधको लत छुटाएकाहरूपछि सरकारी सेवामा प्रवेश गरेका छन् भने कोही निजी विद्यालयका सञ्चालक समेत बनेका छन् । हाल ११ जना पूर्व सेवनकर्ताले त यहीँ रोजगारी पाएका छन् ।