• ६ असार २०८१, बिहिबार

पशुपालकलाई सहयोगी बन्दै मकैखेती

blog

मकै राख्ने चटारेमा किसान। तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु जेठ २२ गते। कपिलवस्तुको शिवराज नगरपालिका ३ नयाँबस्तीका कृषकलाई मकै भित्र्याउन चटारो छ। खेतबारीमा लहरै मकै फलेका छन्। मकै थन्क्याउने चटारोमा कृषक व्यस्त देखिन्छन्। 

धान लगाउने समय आउन लागेको हुँदा मकै निकालेका खेतमा ट्याक्टर लगाएर खनजोत गर्न सुरु गरिएको छ। अहिले मकैका दाना छुट्टाउने र स्याहार्ने कामको भ्याइनभ्याई छ।

कृषक ज्योतिलाल भुसालले तोरी बाली भित्र्याएपछि ९ कट्ठा क्षेत्रफलमा खेती गर्नुभएको थियो। खेती स्याहार्दै गर्दा फोनबाट र घरमै मकै किन्न मानिस आउने गरेका छन्। गत वर्ष १४ क्विन्टल उत्पादन भयो। ८ क्विन्टल मकै ५० रुपैयाँ केजीका दरले बिक्री गरे। बाँकी ४ क्विन्टल घर खर्च र सानो दाना भैँसीको आहाराका रूपमा प्रयोग गरेको भुसालले बताउनुभयो।

भुसाल जस्तै दुर्गाबस्तीका १२० जना पशुपालक कृषकको दैनिकी एउटै छ। मकैखेती गरेपछि पशुलाई आहारासँगै दाना बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन्। वडाले मकै उत्पादनको हब बनाउन पकेट क्षेत्र स्थापना गरेको छ। 

कृषि शाखाले बिउबिजन उपलब्ध भएको छ। सिडिङ् मिसिनको प्रयोग गरी मकै रोपिने गरेको छ। सिँचाइको सुविधा भएपछि मकैखेती गर्ने प्रचलन बढेको छ। करिब ३० बिघा जग्गामा मकैखेती गरिएको छ।

वडामा कृषिको माध्यमबाट रोजगारी सिर्जना गर्न अभियानको रूपमा बिउबिजन, सिँचाइ, उपकरण सहयोग गरी पकेट क्षेत्र निर्माण गरिएको वडा नम्बर ३ का वडाध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो। 

कृषक भोजकान्त भुसालले मकैखेतीलाई फाल्तु खेती मान्दै आउनुभएको छ। तोरी भित्र्याएपछि फागुन महिना र धान खेती गर्ने बिचको समयको सदुपयोग गरी खेत खाली हुने समयमा मकैखेती गरिएको छ। 

मकैका बोट र पोस्कर पशुका लागि आहाराका रूपमा प्रयोग भएको छ। बचेका मकैका दाना लिन ग्राहक घरमै आउने गरेका छन्।