• ११ पुस २०८१, बिहिबार

पाल्पाका स्थानीय तहलाई चार अर्ब ५७ करोड बजेट

blog

रेखीराम राना
तानसेन, जेठ २१ गते ।
पाल्पाका दश स्थानीय तहलाई चार अर्ब ५७ करोड रुपियाँ बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पाल्पाका दश स्थानीय तहहरूका लागि एक अर्ब ९८ लाख र शसर्त अनुदानतर्फ तीन अर्ब ३९ करोड ८२ लाख, विशेष अनुदानतर्फ सात करोड ८५ लाख र समपुरक अनुदानतर्फ नौ करोड २० लाख रुपियाँ विनियोजन गरिएको छ । अर्थ मन्त्रालयबाट चालु आव २०८०/०८१ का लागि चार अर्ब आठ करोड २१ लाख बजेट विनियोजन गरिएको थियो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण पुस्तिका अनुसार सबैभन्दा बढी तानसेन नगरपालिकाले ९९ करोड ७० लाख रुपियाँ विनियोजन गरिएको छ । चालु आवको बजेटको तुलनामा आगामी आवका लागि ३३ करोड बढी बजेट विनियोजन गरिएको हो ।

यस्तै, रामपुर नगरपालिकालाई ४९ करोड तीन लाख विनियोजन गरिएको छ । रामपुर नगरपालिकाको भने चालु आवको तुलनामा बजेट ७७ लाखले कम हो । निस्दी गाउँपालिकालाई आगामी आवका लागि ३८ करोड ३४ लाख विनियोजन गरिएको छ । निस्दीको पनि बजेट घटेको छ । निस्दीलाई चालु आवमा ३९ करोड ७५ लाख विनियोजन भएको थियो ।

यस्तै, तिनाउ गाउँपालिकालाई ३१ करोड ४१ लाख बजेट विनियोजन गरिएको छ । तिनाउले चालु आवमा ३० करोड ४५ लाख बजेट पाएको थियो । तिनाउको आगामी आवका लागि एक करोड बढी बजेट बढेको देखिन्छ ।

पूर्वखोला गाउँपालिकाको आगामी आव २०८१÷०८२ का लागि ३१ करोड ८१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वखोलाले चालु आवमा ३२ करोड ८८ लाख पाएको थियो । पूर्वखोलाको बजेट आगामी आवका लागि एक करोड बढी घटेको छ ।

बगनासकाली गाउँपालिकालाई आगामी आवका लागि ४२ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ । बगनासकालीको आगामी बजेट चालु बजेटभन्दा आठ करोडले बढेको छ । बगनासकालीको चालु आवमा ३४ करोड बढी बजेट रहेको थियो ।

यस्तै, माथागढी गाउँपालिकालाई ३८ करोड ३९ लाख बजेट विनियोजन गरिएको छ भने माथागढी गाउँपालिकाको चालु आवमा ३८ करोड ६२ लाख रुपियाँ बजेट थियो । रम्भा गाउँपालिकालाई आगामी आवका लागि ३२ करोड ४० लाख बजेट विनियोजन भएको छ । रम्भाले चालु आवमा ३४ करोड २५ लाख बजेट पाएको थियो ।

रिव्दीकोट गाउँपालिकाले आगामी आवमा ३९ करोड ९६ लाख रुपियाँ पाउनेछ । जबकी उसले चालु आवमा ३५ करोड ४४ लाख पाएको थियो । रैनादेवी छहरा गाउँपालिकाले आगामी आवका लागि ५४ करोड ३४ लाख रुपियाँ पाएको छ । रैनादेवीले चालु आवमा ४५ करोड ६५ लाख रुपियाँ मात्र पाएको थियो ।