• १३ असोज २०८१, आइतबार

मानव संसाधन विकास केन्द्रमै जनशक्ति अभाव

blog

बुलबुले समाचारदाता

सुर्खेत, जेठ २१ गते । मानव संसाधन विकास केन्द्र सुर्खेतमा जनशक्ति अभाव भएको छ । ३२ जनाको स्वीकृत दरबन्दी रहेको कार्यालयमा १५ जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । आधाभन्दा धेरै कर्मचारी दरबन्दी अनुसार छैनन् । 

कार्यालयमा १७ जनाको दरबन्दी रिक्त छ । अन्य करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन भइरहेको छ । सङ्घीयताको कार्यान्वयनसँगै २०७६ मा प्रत्येक प्रदेशमा मानव संसाधन विकास केन्द्र स्थापना गरिएको हो । सुरुका वर्षदेखि नै कार्यालयमा दरबन्दी अभाव हुने गरेको थियो । 

सबैभन्दा धेरै शिक्षा तालिम शाखामा कर्मचारी अभाव रहेको पाइएको छ । शिक्षा शाखाका लागि स्वीकृत सात जनाको दरबन्दी भए पनि एक जना कर्मचारीको भरमा काम भइरहेको छ । पर्याप्त जनशक्ति नहुँदा लक्ष्य अनुसारको काम गर्न नसकिएको मानव संसाधन विकास केन्द्र शिक्षा तालिम शाखाका प्रशिक्षक हरिबहादुर रावलले बताउनुभयो । उहाँका अनुसार एक जना कर्मचारीको भरमा शाखाबाट काम सञ्चालन भइरहेका छन् । एक जना कर्मचारीको भरमा प्रदेशभरका २२ हजार शिक्षकलाई तालिम दिनु परिरहेको उहाँले जानकारी दिनुभयो ।

शिक्षा शाखाले शिक्षकको क्षमता विकास गर्ने, तालिमको अभिलेख राख्ने, प्रमाणपत्र वितरण गर्ने, तालिमका लागि सामग्री निर्माण र विकास गर्ने गरेको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका २२ हजार शिक्षकलाई विकास केन्द्रको शिक्षा शाखाले तालिम प्रदान गर्ने गर्छ तर अहिले सञ्चालन भएका तालिम प्रभावकारी हुन नसकेको जनाइएको छ । पर्याप्त जनशक्ति नहुँदा शिक्षकको वृत्ति विकासमा प्रत्यक्ष असर परिरहेको छ । २०८० चैतमा शिक्षा शाखा तालिम केन्द्रका प्रशिक्षक सुवर्ण खड्का बढुवा भएर सामाजिक विकास मन्त्रालयमा गएपछि तालिम केन्द्रको काम नै प्रभावित भएको छ । उहाँ गएको दुई महिना बित्दा पनि उहाँको ठाउँमा अर्को व्यक्ति आउनुभएको छैन  । 

जनशक्ति अभावमा शिक्षकलाई तालिम दिनेलगायतका काम प्रभावित बनेको सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलवीर सुनारले बताउनुभयो । उहाँले शिक्षकको ज्ञान, सिप र क्षमता विकासका काममा बाधा पुगेको जनाउनुभएको छ । पर्याप्त जनशक्ति नहुँदा शिक्षकको कार्यदक्षता, मितव्ययिता, प्रभावकारिता, विवेकशील कार्यकुशलतामा असर परिरहेको विकले बताउनुभयो । तालिमको माध्यमबाट जनशक्तिमा उच्चस्तरको कार्यसम्पादन उत्तरदायित्व वहन गर्ने क्षमता विकासमा असर परेको उहाँको भनाइ छ ।