• १२ साउन २०८१, शनिबार

विश्वकप छनोट खेल्न नेपाली खेलाडी प्रस्थान

blog

काठमाडौँ, जेठ २१ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्वकप छनोट दोस्रो चरण अन्तर्गत फुटबल खेल्न जाने नेपाली राष्ट्रिय टिमलाई आइतबार बिदाइ गरेको छ । नेपाली टिमले युएई र यमनसँग खेल्ने छ । नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दै छ ।

एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङका अनुसार युएईसँगको खेल त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा हुने तय गरिएको भए पनि प्राविधिक कारणले हुन सकेन । एएफसी (एसियाली फुटबल महासङ्घ) ले दशरथ रङ्गशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरबको दमाममा खेल्ने तय भएको थियो । अध्यक्ष नेम्वाङले नेपाली खेलाडीले देशको प्रतिनिधित्व गर्दै राम्ररी खेली अङ्क बटुल्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले नेपाली टिमका कप्तान किरण चेम्जोङको नेतृत्वमा नेपालीले शानदार खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले खेलको प्रशिक्षण धेरै राम्रो भएकाले दृढ आत्मविश्वास लिएर प्रतिस्पर्धामा जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आशावादी छौँ । खेल राम्रो हुन्छ । धेरै खेल खेलिरहेका छौँ ।”

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यस पकट खेलको राम्रो तयारी भएको बताउनुभयो । उहाँले १५ दिनको प्रशिक्षणमा धेरै राम्रो भएको र टिमवर्क पनि राम्रो भएको बताउनुभयो । खेलाडीले धेरै मेहनत गरेको हुनाले सञ्चार माध्यममा नकारात्मक कुरालाई जोड नदिन भिन्सेनजोले अनुरोध गर्नुभयो । छनोटको अन्तिम प्रतिस्पर्धाका रूपमा यमनविरुद्ध ११ जुनको ‘अवे म्याच’ पनि साउदीमै हुँदै छ । मुख्य प्रशिक्षकले यी दुई प्रतियोगिताका लागि आइतबार नै २३ सदस्सीय टोली घोषणा गर्नुभएको थियो । 

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार ।

रक्षक : अनन्त तामाङ, अभिषेक लिम्बू, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ 

लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई ।

मिडफिल्डर : भरत खवास, लकेन लिम्बू, मनिष डाँगी, वसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई ।

फरवार्ड : जिलेस्पेजङ्ग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान ।