• १३ वैशाख २०८१, बिहिबार

क्यानद्वारा नेपाल टी–२० लिगको घोषणा

blog

काठमाडौँ, वैशाख १२ गते । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग क्रिकेट लिगको घोषणा गरेको छ । क्यानले सोमबार  नेपाली क्रिकेटकै महत्वकांक्षी प्रतियोगिता नेपाल टी–२० लिगको घोषणा गरेको हो । 

लिगलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि मान्यता दिएको क्यानले जनाएको छ । क्यानले लिगको मिति भने सार्वजनिक गरेको छैन । क्यानले यसअघिनै नेपाल टी–२० फ्रेन्चाइज लिग आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरिसकेको छ ।

कैलालीको धनगढीमा भएको क्यानको साधारणसभाले प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्ट्ससँगको आठ वर्षको सम्झौतालाई अनुमोदन गरेको थियो । लिगका लागि क्यान र सेभेन थ्री स्पोर्ट्सबीच बार्षिक तीन करोड ९० लाख रुपियाँको सम्झौता भएको छ । लिगमा विदेशी टोली र खेलाडीका समेत उल्लेख्य सहभागिता रहने बताईएको छ । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाल टी–२० ले नेपाली क्रिकेटलाई मात्र नभई सिंगो अर्थतन्त्रलाई नै फाइदा पुग्ने बताएको क्यानले उल्लेख गरेको छ । यो प्रतियोगिताले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, पर्यटन विकास गर्ने र विदेशी मुद्रा आर्जनसमेत गर्ने पनि मन्त्री गहतराजले बताउनुभएको छ । 

यसैगरी क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टी–२० लिगले नेपाली क्रिकेटको स्तर माथि उठाउन थप सहयोग गर्ने बताउनुभएको छ । नेपाल क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले पनि क्रिकेटमा करिअर बनाउँदै गरेका युवा खेलाडीका लागि यो यस लिग कोशेढुंगा हुने बताउनुभएको छ ।