काठमाडौँ, जेठ १९ गते । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख (मेयर) विद्या सुन्दर शाक्यसहित नेवार पत्रकार सम्मानित हुनुभएको छ । मातृभाषा संरक्षण तथा प्रवर्धनमा योगदान दिएको भन्दै उहाँहरूलाई सम्मानित गरिएको हो ।
पूर्व राष्ट्रपति तथा प्रथम महिला राष्ट्र प्रमुख विद्यादेवी भण्डारीले खादा तथा सम्मानपत्रले उहाँहरूलाई सम्मानित गर्नुभयो । महानगर प्रमुखको जिम्मेवारीमा रहँदा शाक्यले आवश्यक बजेट छुट्याई मातृभाषा विकासमा सहयोग गरेको भन्दै सम्मानित गरिएको नेवा: पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताउनुभयो ।
शनिबारदेखि सुरुभएको प्रथम अन्तर्राष्ट्रिय पत्रकारको सम्मेलनको उद्घाटन सत्रमा उहाँहरू सम्मानित हुनुभएको हो । सम्मानित हुनेमा भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, दबूका पूर्व अध्यक्ष श्रीकृष्ण महर्जन, गुठी संस्थानका प्रशासकीय प्रमुख किरण शाक्य रहनुभएको छ ।
उद्घाटन सत्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मातृभाषा पत्रकारिताले भाषिक समुदायबिचको संवादमार्फत सूचना र विचार आदान प्रदानमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । मुलुकमा गणतन्त्र प्राप्तिपछि विभिन्न भाषाभाषी फस्टाउने अवसर पाएको उहाँको भनाइ छ । नयाँ संविधानले सबै भाषालाई राष्ट्रिय भाषाको दर्जा दिएको उहाँले स्मरण गर्नुभयो ।
सम्मानित व्यक्तित्व विद्यासुन्दर शाक्यले आफू पदमा रहँदा मातृभाषा पत्रकारिता र साहित्यका लागि खेलेको योगदान स्वरूप सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभयो । मातृभाषाको संरक्षण तथा प्रवर्द्धनमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उहाँले सबैलाई त्यसमा सक्रिय हुन आग्रह गर्नुभयो ।
सो अवसरमा भारतीय पत्रकार अनिरुद सुधासुं, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, सार्क पत्रकार संघका अध्यक्ष राजु लामा, फोनिजका संघीय अध्यक्ष गजुरधन राई, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले धारणा राख्नुभएको थियो । सम्मेलन आइतबारसम्म चल्नेछ । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटानका गरी करिब डेढ सय मातृभाषी पत्रकारको सहभागिता रहेको कार्यक्रमका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले बताउनुभयो ।