• ६ असार २०८१, बिहिबार

ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

blog

विश्व बुबाआमा दिवसको अवसरमा हेटौँडा सञ्चालनमा आएको ज्येष्ठ नागरिक सेवा केन्द्र । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, जेठ १९ गते । 
विश्व बुबाआमा दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ मा शनिबारदेखि ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. २ को आयोजना एवम् जलेश्वर मन्दिर व्यवस्थापन समितिको सहयोगमा सेवा केन्द्रको शुभारम्भ सँगै ज्येष्ठ नागरिक सम्मान तथा निमोनियाविरुद्धको खोप लगाइएको छ ।

५४ जना ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप तथा दुई सय जनालाई थर्मस वितरण गरिएको हो । १०३ वर्षदेखि ८४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई पहिलो चरणमा निमोनियाविरुद्धको खोप लगाइएको हेटौँडा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनले जानकारी दिनुभयो ।


‘‘पहिलो चरणमा सीमित बजेट भएकाले सबै ज्येष्ठ नागरिकलाई खोप लगाउन सकेनौँ, आगामी वर्षको बजेटमा बाँकी ज्येष्ठ नागरिकलाई समेट्छौ,’’ वडा अध्यक्ष महर्जनले भन्नुभयो । ज्येष्ठ नागरिकको सुगर, प्रेसर र अन्य स्वास्थ्य अवस्थाको जानकारी लिएर खोप लगाइएको थियो । वडाले निमोनियाविरुद्धको खोप प्रति डोज पाँच हजारका दरले खरिद गरेको हो ।

त्यस्तै ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र पनि उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दिवा सेवा केन्द्रको उद्घाटन गर्दै ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र भेटघाट गर्ने र सुख दुःख साटासाट गर्ने थलो बन्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले बागमती प्रदेश सरकारले नीतिगत रूपमै ज्येष्ठ नागरिकका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै दिवा सेवा केन्द्रका लागि स्वयम् सेवकको पनि व्यवस्था गरिरहेको जानकारी दिनुभयो ।


हेटौँडा उपमहानगरपालिका उपप्रमुख राजेश कुमार बनियाले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान, सीप युवा पुस्ताले ग्रहण गर्नुपर्ने बताउँदै उहाँहरू इतिहासको जानकार भएको बताउनुभयो । पछिल्लो समय युवाहरू बिदेसिने क्रमसँगै ज्येष्ठ नागरिकसँग बोल्ने, कुराकानी गर्नेहरू पनि नहुँदा अहिले सञ्चालनमा आएको दिवा सेवा केन्द्रले सबै ज्येष्ठ नागरिक भेटघाट गर्ने, भजन कीर्तन, नाचगान गर्ने थलो हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र उपमहानगरको १९ वटै वडामा आवश्यक रहेको बताउँदै उपमहानगरको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

ज्येष्ठ नागरिक परिवारका संरक्षक र समाजका पथप्रदर्शक भएकाले लामो जीवन भोगाइका अनुभवले खारिएका ज्ञान, सीपलाई सम्मान गर्नुपर्ने हेटौँडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक विष्णुकुमारी लामिछानेले बताउनुभयो । उहाँले सूचना र प्रविधिको विकासले समाजमा परम्परागत ज्ञान, सीप, धारणा र कला ओझेलमा पर्दै गएको र पारिवारिक वातावरणमा मात्र समय व्यतीत गर्न कठिनाइ भएकाले ज्येष्ठ नागरिकका लागि दिनभर भलाकुसारी तथा विविध कार्य गर्न ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको महत्त्व हुने बताउनुभयो ।


हेटौँडा–२ मा छ सय १३ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको वडा सचिव आरपी गुरागाईले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरभित्र पहिलो पटक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको हो । ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ अनुसार, ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पूरा गरेका नेपाली नागरिक हुन् । राष्ट्रिय जनगणना–२०७८ अनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या २९ लाख ७७ हजार ३ सय १८ अर्थात् कुल जनसङ्ख्याको १०.२१ प्रतिशत छ ।