• २ माघ २०८१, बुधबार

गुल्मीमा राहदानीबाट १६ लाखभन्दा बढी राजस्व सङ्कलन

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, जेठ १९ गते ।
 जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक हप्तामा ३२० जनाले राहदानी बनाएका छन् भने राहदानीबाट झण्डै १७ लाख राजस्व सङ्कलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेको एक हप्ताको प्रगति विवरण सार्वजनिकमा ३२० जनाको राहदानीका लागि आवेदन सङ्कलन गरिएको र राहदानीबाट १६ लाख ६७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको उल्लेख छ  ।

राहदानीका साथै संस्था दर्ता तथा नवीकरणबाट १३ हजार गरी कुल १६ लाख ८० हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

गत आइतबारदेखि शुक्रबारसम्म ३२० जनाको राहदानीका लागि आवेदन सङ्कलन, ३४४ जनाको राहदानी वितरण, ४१३ जनालाई नयाँ नागरिकता प्रदान, १६९ नागरिकताको प्रतिलिपि प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

यस्तै सोही अवधिमा  ५५९ जनाको राष्ट्रिय परिचयपत्रका लागि आवेदन सङ्कलन पनि गरिएको र ४४ जनाको परिचयपत्र वितरण गरिएको गैरेले बताउनुभयो । ३०२ दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित र १९ जनाको नाबालक परिचयपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

पछिल्लो एक हप्तामा सेवाग्राहीको चाप बढी भएकाले साँझ ७ बजेसम्म पनि सेवा प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कर्मचारीको अभाव भएपनि टाढा टाढाबाट आएका सेवाग्राहीहरूलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिएको उहाँको भनाइ छ । नागरिकहरूलाई सहज तरिकाले सेवा प्रवाह गर्नु आफूहरूको दायित्व भएकाले बिहान साँझ नभनी सीमित कर्मचारी भए पनि व्यवस्थापन गरी सेवा प्रवाह गरिएको शर्माले बताउनुभयो ।

उच्च माध्यमिक तहको परीक्षा भर्खरै मात्रै सम्पन्न भएकाले नागरिकता र राहदानी बनाउने बढेको प्रशासनले जनाएको छ ।