• १० मंसिर २०८१, सोमबार

दर्शन कामाख्या

blog

हामी एकै ठाउँका भाइबन्धुहरूबिच कामाख्या भगवतीको दर्शन गर्न गुवाहाटी जाने सल्लाह भए अनुसार २६ जना यात्री गत चैत २० का दिन बसबाट प्रस्थान गर्‍यौँ । यात्रुहरू गोरखा, हर्मीका घिमिरे बन्धुहरू परिवारसहित तथा घिमिरेकै चेलीहरू थिए । यात्रालाई रोमाञ्चक बनाउन हामीले भोगिआएका घटना, बाल्यकालका गतिविधिदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय यात्राका क्रममा अनुभव गरिएका तथा पेसा व्यवसायको सिलसिलामा सँगालिएका अनुभवरूपी पुस्तकका पानाहरू केलाउने काम भइरहन्थे ।  सुरुको दिन भिमानसम्म बिपी राजमार्ग र त्यहाँबाट मध्यपहाडी लोकमार्ग हुँदै इटहरीमा बास भयो । २१ गते बिहानै हाम्रो बस इटहरीबाट पूर्व हानियो । बिहानको खाना राजमार्गबाट उत्तरमा रहेको सताक्षीधाम मन्दिरपरिसरमा भयो । त्यहाँ विभिन्न देवदेवीका मन्दिरसहित धामलाई व्यवस्थित गर्ने काम हुँदै रहेछ । यात्रुले त्यस संस्थाका सचिवलाई रसिद काटेर यथासक्य चन्दा पनि दिए । त्यहाँबाट हाम्रो सवारी मेची पुल पार गरेर भारतीय अध्यागमन क्षेत्र पुगेर रोकियो । यात्रुहरूको नाम, लिस्ट अनुसार आआफ्नो परिचयका लागि नागरिकता प्रमाणपत्र देखाएर भारतको भूमि प्रवेश गरियो । पानीट्याङ्कीबाट नक्सलबारी, बागडोगरा, सिलिगुडी, जलपाइगुडी हुँदै यात्रा अगाडि बढ्यो । सिलिगुडीदेखि पूर्वको सडक फराकिलो सिधा हाइवे भएकाले गाडीको गति बढ्दै गयो र टिष्टा नदीको पुल तरेर सिधा पश्चिम  हानियो । बेलुकी हासिमारा भन्ने स्थानमा शिवालय लजमा बास भयो । बसका स्टाफहरूले खाना तयार गरे । यात्रुलाई वरपरका बजार, गाउँघर डुल्ने अवसर मिल्यो । त्यस ठाउँमा १३५ घर नेपालीभाषी प्रवासी नेपालीको बस्ती रहेछ । उनीहरूका बाबुबाजे सिक्किमबाट यहाँ बसाइँ सरेर आएका रहेछन् । हाम्रा नातेदार, झापा मोरङतिर छन्; हामी पनि बेलाबखत त्यतातिर गइरहन्छौँ भन्थे । समथर भूमि, विश्वकै धेरै पानी पर्ने चेरापुञ्जी पहाडको नजिक भएकाले त्यस क्षेत्रमा हरियाली, वनजङ्गल प्रशस्तै देखियो ।

चैत २२ को यात्रा हासिमाराबाट सुरु भयो । दायाँबायाँ ठुला ठुला चिया बगान, हरियाली जङ्गल पार गर्दै बिहान १० बजेतिर आसामको गोरुवसा जिल्ला, नागदलवारी ठाना, जिराङमा सामुदायिक भवन परिसरमा खाना पकाउने बन्दोबस्त भयो । नदी किनारातिर गएका महिला यात्रुले निहुरो खोजेर केलाए । बिहानको खाना निहुरोको तरकारीसँग मिठो स्वादले खाइयो । त्यहाँ स्थानीयवासीसँग कुराकानी गर्ने अवसर पनि मिल्यो । त्यस इलाकामा निरौला, घिमिरे, सापकोटालगायत २८ घरधुरी नेपालीभाषीको बसोबास रहेछ । उनीहरू २०१८ सालतिर सिक्किम गान्तोकबाट बसाइँ सरेर आएका रहेछन् । खाना खाएर बाटो लाग्यौँ । दिनभरिको यात्रा पूरा गरी बेलुकी ४ः३० बजे गुवाहाटी सहरभन्दा माथि नीलपर्वतमा अवस्थित कामाख्या देवीको मन्दिरनजिकै रहेको लजअगाडि पुगेर बस रोकियो । सिजन भएर होला; यात्रुहरूले त्यहाँका लज, होटल भरिभराउ थिए तर देवीजीले त्यस लजका म्यानेजरसँग पहिले नै कुरा गरिसक्नुभएको रहेछ । हामीले पनि त्यसै लजमा आफ्ना झोला राख्यौँ । हामी केही यात्रीले बेलुकी नै मन्दिर परिक्रमा गरेर केही तस्बिर लिनसमेत भ्यायौँ । बिहान मन्दिरभित्र देवीको दर्शन गर्नका लागि टोकन लिएर मात्र लाइनमा बस्न पाइने रहेछ । हामी रातिको २:३० बजे नै टोकन लिन लाइनमा गएर खडा भयौँ र काउन्टर खुल्नासाथ टोकन लिएर मन्दिरको लाइनमा बसियो । अढाई घण्टाको लाइन बसाइपछि लामो प्रतीक्षाको घडीलाई अवसरमा बदल्दै मन्दिरको गर्भगृहमा रहेको कामाख्या भगवतीको मूर्तिलाई झलक्क हेर्न के पाइएको थियो; लाइनमा आएका मानिसले धकेलिहाले । भेटी चढाउन हातमा लिएको पैसा पण्डाले थुतेर लिए, सुरक्षा गार्डले पनि पाखुरामा समातेर सुरक्षित बाहिर पठाए । बाहिर आएर तस्बिरहरू खिचियो । चेरापुञ्जी क्षेत्र न हो, बिहानै ठुलो पानी प¥यो । हामी केही भिज्यौँ पनि । दिउँसो मठमन्दिर, बजार घुम्नका लागि चार वटा गाडी भाडामा लिएर हिड्यौँ  । ब्रह्मपुत्र नदीको बिच भाग टापुमा रहेको उमानन्द मन्दिरमा स्टिमरमा गएर दर्शन गरेर आइयो । त्यसपछि त्यहाँका प्रसिद्ध नवग्रह मन्दिर, तिरुपति बालाजीलगायत आठ वटा मन्दिर र बजार परिक्रमा गरी बेलुकी सोही लजमा आएर बास बसियो । 

भोलिपल्ट चैत २४ गते सबेरै फिर्ती यात्रा सुरु भयो । जाँदाको दिन खाना खाएकै ठाउँ जिराङमा र बिहानको खाना खाएर हासिमारामै पुगेर बस्यौँ । महिला यात्रीले त्यहाँ पनि निहुरो जोगाड गर्न भ्याएका थिए । २५ गते बिहान टिष्टा नदी तरेर सिक्किमको नाम्ची जानु थियो तर गत वर्ष टिष्टामा आएको बाढीले सडकलाई धेरै क्षति पु¥याएकाले बाटो बन्द गरेर सडक पुनर्निर्माण हुँदै रहेछ । त्यताबाट जान पाइएन पुनः फर्किएर माल बजारबाट उत्तर लागेर कालिङपोङ बजार हुँदै जाने सडक समात्नु प¥यो । बाटो घुमाउरो भए पनि हामीलाई कालिङपोङ जिल्ला कालेबुङ बजार देख्ने, हेर्ने अवसर मिल्यो । ज्यादै भिरालो पहाडमा बसेको कालेबुङ बजार, अधिकांश नेपालीभाषीको बसोबास क्षेत्र, साँघुरा सडक, बोलेरो, टाटा सुमो जस्ता साना गाडीको व्यापक प्रयोग, घुम्तीपिच्छे जाम, दोहोरो गाडी हिँड्नुपर्ने बाध्यता । धन्न त्यस दिन सरकारी बिदाको दिन परेकाले ट्राफिक जाम कम भएर फस्नु परेन, नत्र भने चार/पाँच घण्टासम्म पनि जाममा फस्नुपर्ने हुन्छ भनेर हाम्रा चालकले भन्दै थिए । सिक्किम प्रवेश गर्ने बिन्दुमा सबैको परिचयपत्र हेरियो । नागरिकताका फोटोकपीहरू त्यहीँ बुझाएर हाम्रो यात्रा नाम्चीतिर उकालो लाग्यो । पर्यटकीय आकर्षणको केन्द्र चारधाम मन्दिरहरू घुम्न टिकट काटेर मन्दिर कम्प्लेक्समा प्रवेश गरियो । त्यहाँ प्रवेश गर्नासाथ ठुलो शिवजीको मूर्ति दर्शन ग¥यौँ । त्यसवरिपरि भारतवर्षका चारधाम जगन्नाथपुरी, रामेश्वर, द्वारका, बद्रीनाथ, केदारनाथका मन्दिरहरूसँगै किराँतेश्वर महादेवको विशाल मूर्ति, डाँडैभरि देवीदेवताको मन्दिले भरिएको धार्मिक क्षेत्र, धार्मिक पर्यटक आकर्षण गर्ने रमणीय ठाउँ रहेछ नाम्ची । घुम्दाघुम्दै साँझ प¥यो । फुर्सदले हेर्ने, त्यहाँको ऐतिहासिक पृष्ठभूमि बुझ्ने समय नै भएन । अँध्यारो भइसकेकाले नजिकै लजमा आएर बास बसियो । त्यहाँका मानिसको बोलीचाली राम्रो, मिजासिलो थियो । नेपालीप्रति विशेष सहयोग र स्नेहपूर्ण व्यवहार पायौँ । सबै नेपालीभाषी र होटल सफासुग्घर थिए । हामी बसेको लजकी मालिक्नी फुयाँल थरका हौँ भन्थिन् । श्रीमान् सिक्किम पुलिसमा जागिरे रहेछन् । दुई छोरा एक छोरी चारै जना दत्तचित्त भएर यात्रुको बसोबासको व्यवस्थापनमा लागे । बर्सेनि हजारौँ नेपाली त्यहाँ पुग्दा रहेछन् । यसले गर्दा एउटै भाषा, वेशभूषा, एउटै रहनसहन भएका हामी नेपाली र त्यहाँका नेपालीभाषी दाजुभाइसँग भेटघाट हुने र एकआपसमा आत्मीयता बाँड्ने अवसरले धर्म र संस्कृति बचाइराखेको अनुभव हामीले पनि सँगालेर ल्यायौँ ।

अघिल्लो दिन आएकै बाटो कालिङपोङ हुँदै मालबजार झ¥यौँ । दार्जिलिङ जान अघिल्लो दिनको जस्तै टिष्टाबाट बाटो बन्द भएको खण्डमा सिलिगुडी भएर घुमेर जानुपर्ने अवस्था थियो तर भाग्यवश त्यस दिन टिष्टा किनारकै बाटो प्रवेश पाइएकाले टिष्टा नदी किनारबाट उकालो चढ्यौँ  । टिष्टा नदी ठुलो रहेछ, करिब महाकाली नदी जत्रै ठुलो । उकालो चढेर घुमपहाड पुगेपछि घुमको रेल्वे स्टेसन नजिकै हाम्रो बस रोकियो । दार्जिलिङ सहरभित्र साँघुरो सडक संरचना भएकाले ठुला सवारी जान मनाही रहेछ । हाम्रो बस्ने व्यवस्था घुमबाट ९÷१० किलोमिटर टाढा दार्जिलिङ गेस्ट हाउसमा थियो । हामीले एक रातका लागि आवश्यक सामान मात्र सानो झोलामा लियौँ र साना गाडीमा बसेर होटलमा पुग्यौँ । हामीलाई त्यस दिन दुई घण्टा समय थियो तर दुर्भाग्यवश ठुलो असिनापानी परेर भिजायो, घुम्न जान सकेनौँ । चैत २७ गते ४ बजे नै सानो गाडी चढेर सूर्योदय हेर्न टाइगर हिलतर्फ लाग्यौँ । त्यहाँ सबेरैदेखि सूर्योदय हेर्न देशविदेशका हजारौँ मानिस भेला भइसकेका रहेछन् । हामी पनि विदेशी पर्यटक नै ठह¥यौँ । त्यही भिडमा मिसिएर सूर्याेदयतर्फ मुन्टो फर्काएर एकोहोरो हेर्न थाल्यौँ । अघिल्लो दिन पानी परेकाले आकाश सफा थियो । सूर्योदय हेर्ने मानिस पनि खचाखच थिए । एकैछिनमा बिस्तारै सूर्यनारायणले रोशनी छर्दै धर्तीको तलबाट पिर्र्लिक्क रातो टाटोमा आफ्नो कलिलो स्वरूप देखाउनुभयो । मैले मन्त्र पढेँ, “आकृष्णेन रजसाव्वर्तमानो निवेशयन्न अमृतम्मत्र्यञ्च हिरण्ययेन सवितारथेनादेवोयातिभुवनानिपश्श्यन् ।” हजारौँको भिडले फोटो, सेल्फी खिचे, सूर्यनारायण माथि आउँदै हुनुहुन्थ्यो, दर्शक त्यहाँबाट हिँडिहाले । त्यहाँ चिया, कफीलगायत ऊनका कपडाको दैनिक ठुलो व्यापार हुँदो रहेछ । 

नेपालमा पनि श्रीअन्तु, नगरकोट, राइनासकोट, सराङकोटलगायतका अग्ला स्थानबाट सूर्योदय हेर्न मानिसहरू प्रशस्तै जाने गरेका छन् तर नेपालबाट देखिने सूर्योदय र टाइगर हिलबाट देखिने सूर्योदयको दृश्य फरक हुने रहेछ । नेपालबाट देखिने सूर्योदय दूर क्षितिजबाट उदय हुने देखिन्छ भने टाइगर हिलबाट आसाम, जलपाइगुडीको समथर भाग होचो देखिने हुँदा सूर्योदय धेरै तल खाल्डोबाट रातो टाटोमा देखिन्छ । टाइगर हिल प्रवेशका लागि दार्जिलिङको स्थानीय सरकारले प्रतिव्यक्ति ७० रुपियाँ टिकट लिने व्यवस्था गरेको रहेछ तर त्यहाँ स्थानीय डनहरूको दादागिरी अत्यधिक थियो । टिकट नलिईकन ३५ रुपियाँ लिई लगिदिने, स्थानीय दादाहरू र काउन्टरका कर्मचारीले बाँडचुड गर्ने र यात्रु लैजाने गाडीको चालकलाई चिनजानका आधारमा मिलाएबापत केही रकम दिने र बिनाटिकट यात्रा गराउने रहेछन् । हामी चढेको गाडीचालकसँग कुरा गर्दा दार्जिलिङमा बाहिरबाट आउनेलाई ठग्ने ठग र धूर्तहरू धेरै रहेछन् भन्ने बुझियो तर सिक्किम धेरै शान्त, त्यहाँ कानुनको अक्षरशः पालना गर्ने, त्यहाँका मानिस अनुशासित र इमाादार रहेको महसुस गरियो । दृश्यावलोकनका क्रममा टाइगर हिलबाट सबैभन्दा पुरानो चिया बगान, राजा वीरेन्द्र पढेको सेन्ट जोसेप स्कुल/कलेज, तेन्जिङ हिलारी ‘रक क्लाइम्बिङ ट्रेनिङ सेन्टर’ तथा चौरस्तामा उभिएको आदिकवि भानुभक्तको पूर्ण कदको सालिक अवलोकन गरियो । त्यहाँ राखिएको आदिकवि भानुभक्तको सालिकले नेपाली हुनुको गौरव महसुस गरायो । भानुको सालिकसँग फोटो खिच्ने सबैको लालसा मेटाएर बजार घुम्दै केही केही दार्जिलिङको चिनो किनमेल गर्दै होटल फर्कियौँ । दार्जिलिङको ऐतिहासिक चिनारी न्यारो गेजको कोइला इन्जिनवाला, धुवाँ फाल्दै, छुकछुक गर्दै चल्ने पुरानो रेल र डिजेल इन्जिनबाट चल्ने छोटी गेजको यात्रु रेलसहित बाटोमा हेर्दै घुम स्टेसननजिक आएर बस चढ्यौँ । बसको झ्यालबाट त्यहाँको हरियाली, सुकेपोखरी बजार, मिरिक बजार हेर्दै पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गरियो । कन्याम, फिक्कल हुँदै सानो पाथीभरा दर्शन गरेर चिया बगानका फोटाहरू खिच्दै बेलुकी इटहरी पुगेर बास बसियो । 

चैत २८ गते बिहान पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली मन्दिर दर्शन गरेर वराहक्षेत्र पुगियो । वराहक्षेत्रमा १२ बर्से कुम्भमेला सुरु भएको थियो । यात्रुहरूले कोशी र कोका नदीको सङ्गममा स्नान गरी, श्राद्ध, तर्पण, वराह भगवान्को दर्शन पूजा, दानदातव्य गरेर त्यहीँ खाना खाएर दिउँसो मध्याह्न मध्यपहाडी लोकमार्ग हुँदै बाटो लागियो । बेलुकी जनकपुरधाम पुगेर जानकी माताको दर्शन, विवाहमण्डप अवलोकन गरेर साँझ लालगढमा पुगेर बास बसियो । चैत २९ गते अर्थात् यात्राको १० औँ दिन बिपी राजमार्गको सिन्धुली, खुर्कोट हुँदै बेलुकी सकुशल काठमाडौँ आइपुगियो । 

यात्रामा नयाँ ठाउँ घुम्नु, देख्नु त छँदै थियो; त्यसबाहेक हामी यात्रु एउटै ठाउँका, बाल्यकाल एकै ठाउँमा खेलेर, पढेर हुर्किएका, एउटै उमेर समूहका यात्री, सबैले केही न केही खाने चिज बोकेका, गुलियो, नुनिलो, अमिलो आदि नाना प्रकारका आफ्नो कुम्लोमा बोकेका खानेकुरा तँछाडमछाड गर्दै पालो पर्खंदै बाँडचुड गरेर खाँदै, गीत, भजन, बालन गाउँदै, नाचगान गर्दै एकआपसमा तितामिठा अनुभव सुनाउँदै हिँड्न पाउँदा १० दिन बितेको पत्तै भएन । यात्रा अविस्मरणीय र रोमाञ्चक रह्यो ।