• १३ साउन २०८१, आइतबार

व्यापार एकीकृत रणनीतिले पहिचान गरेका वस्तुको निर्यात अभिवृद्धि गरिने

blog

काठमाडौँ, जेठ १९ गते । नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका वस्तुको निर्यात अभिवृद्धि गरिने भएको छ । 

आगामी आर्थिक वर्षको बजेटमार्फत हाल उच्च परिमाणमा निर्यात भइरहेका गलैँचा, कार्पेट, धागो, तयारी कपडा, सिमेन्टलगायतका वस्तुको निर्यात अभिवृद्धि गरिने घोषणा गरिएको हो । 

स्वदेशी श्रम र कच्चा पदार्थमा प्रयोग गरी श्रम र कच्चा पदार्थको प्रयोग गरी कम तौल र उच्च मूल्य भएका वस्तु उत्पादन गरी निर्यात गरिने छ । पहिलो चरणमा कफी, अलैँची, चिया र हिमालयन वाटरको ब्रान्डिङ गरिने बजेटमा उल्लेख गरिएको छ ।  व्यापारजन्य र प्रविधिको विकास तथा उपयोग गरी उत्पादन र व्यापार लागत घटाउँदै नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने छ । आगामी आवमा भैरहवाको एकीकृत जाँच चौकी र रसुवाको टिमेरेमा सुक्खा बन्दरगाहको निर्माण सम्पन्न गरिने र कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्यको प्रारम्भ गरिने बजेटमा उल्लेख गरिएको छ । आयात हुने वस्तु तथा सेवाको गुणस्तर मापदण्ड निर्माण गरी लागु गरिने छ । गुणस्तरसम्बन्धी सर्वस्वीकार्यता र मापदण्डमा एकरूपता हुने गरी छिमेकी मुलुकसँग सम्झौता गर्ने प्रक्रिया अगाडि बढाइने छ ।

औद्योगिक र उद्यमशीलता प्रवर्धन गरिने

आगामी आवमा औद्योगिक विकास र उद्यमशीलता प्रवर्धन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आबद्ध गराउन उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने भएको छ ।  सङ्घ, प्रदेश र स्थानीय तह निजी क्षेत्र, सहकारी तथा समुदायको साझेदारीमा सञ्चालन हुने यस कार्यक्रमका लागि सात अर्ब बजेट विनियोजन गरिएको छ । 

यस्तै महिला उद्यमीद्वारा उत्पादित वस्तु तथा सेवाको प्रवर्धनका लागि सार्वजनिक निजी साझेदारीमा काठमाडौँको चोभारमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गरिने छ । महिला उद्यमीद्वारा उत्पादित वस्तु र सेवाको ब्रान्डिङ गर्न ट्रेड पोर्टलमा प्रविष्ट गर्ने व्यवस्था मिलाइने भएको छ । महिला उद्यमीद्वारा उत्पादित वस्तु बिक्री गर्न कोसेली घरको स्थापना र सञ्चालन गरिने छ । औद्योगिक विकास र उद्यमशीलता प्रवर्धन गर्न छ अर्ब ५५ करोड रुपियाँ विनियोजन गरिएको छ ।