• २४ पुस २०८१, बुधबार

सहकारीको रकम हिनामिनामा मुछिएका सांसदसहित ३५ जनाविरुद्ध मुद्दा

blog

बोमलाल गिरी

नवलपुर, जेठ १८ गते। नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको घोटालाका आरोपविरुद्ध अदालतमा मुद्दा दायर हुने भएको छ। प्रतिनिधि सभा सदस्य गीता बस्नेतसहित ३५ जनाविरुद्ध आइतबार मुद्दा दर्ता गरिने जिल्ला न्यायाधीवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो। 

जिल्ला प्रहरी कार्यालयले राप्रपाबाट बर्दियाकी प्रतिनिधि सभा सदस्य गीता बस्नेत, बस्नेतका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपीकृष्ण शर्मा, विनाधितो ऋण लिने शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको हो।

सरकारी वकिलको कार्यालयले एकहप्ता अनुसन्धान गरेपछि आइतबार सबै ३५ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागिएको न्यायाधिवक्ता घिमिरेले जानकारी दिनुभयो। प्रतिवादी बनाइएकामध्ये रिमाल, पाण्डे, शर्मा, लामिछानेलगायत १० जना प्रहरी हिरासतमा छन् भने सांसद बस्नेतसहित २५ जना फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो। 

प्रहरीले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपियाँ बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय मागदाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएको छ। यसअघि सहकारी रजिष्टारको कार्यालय गण्डकीले पनि यति नै रकम हिनामिना गरेको प्रतिवेदन बुझाएको थियो। 

रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्टारको कार्यालयको अनुसन्धानबाट खुलेको छ। ७ वर्षसम्म सहकारीको अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई विनाधितो ऋण प्रवाह गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ। 

‘छिपछिपे उपभोक्ता सहकारी संस्थामा सेयर सदस्यसमेत नरहेका व्यक्तिलाई पनि नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको छ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो, ‘कावासोतीमा कार्यालय रहेको यो सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब १ करोड रकम लगिएको छ। त्यहाँ रकम लैजानुपर्ने कुनै कारण देखिँदैन।’

बर्दियाका पाण्डेले आफू निकटका नगेन्द्रबहादुर रिमालले बर्दियामा सञ्चालक गरेको कृष्णसार रिर्सोटमा सहकारीको रकम सोझै लगानी गरेको पनि अनुसन्धानले देखाएको छ। राप्रपाबाट प्रतिनिधि सभा सदस्य बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले एक महिनाअघि पक्राउ पुर्जी जारी गरे पनि उहाँ अझै फरार हुनुहुन्छ। 

०६६ सालमा स्थापना भएको यो सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य छन्। सहकारीमा कम्तीमा एक हजारको शेयर लिएको हुनुपर्ने व्यवस्था छ। ऋण प्रवाह भएको सबै रकम असुली हुन सके बचतकर्ताको रकम फिर्ता हुन सक्ने अवस्था रहेको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ।