• १५ असार २०८१, शनिबार

च्याछरा झरना नजिक पुग्यो सडक

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ १८ गते । हिल्सा–सिमकोट सडक आयोजनाले ग्याबिन भरेर सडक निर्माण गर्न थालेपछि यहाँ पर्यटकीय क्षेत्र च्याछरा झरनाको उचाइ घटेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण झरना नजिकै सडक पुगेपछि यस्तो अवस्था आएको हो । 

मानसरोवर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक भण्डारीले सडक विकासले झरनासम्म आउजाउ गर्न सहज भए पनि झरनाको सुन्दरता बिग्रिने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । उहाँले नाम्खा गाउँपालिका–३ को च्याछरा झरनाले निकै मनोरञ्जन दिने गरेको भए पनि अहिले सडक निर्माणका क्रममा झरनाको उचाइ छोटिएका कारण झरनाबाट यात्रुले पाउने मनोरञ्जनमा कमी आउन सक्नेतर्फ सोच्नुपर्ने बताउनुभयो । पहिले पहिले ठुलो झरनाका छेउमा उभिएर पैदल वा गाडीमा सवार यात्रुले तस्बिर लिने, भिडियो खिच्नेलगायतका काम गरेर मनोरञ्जन लिने गरेका थिए तर अहिले त्यो अवस्था रहेको छैन तर पनि सडक पुगेपछि झरनाको महत्व झन बढ्दै गएको छ । 

हिल्सा–सिमकोट सडक आयोजनाले च्याछरामा सडकको ग्रेड नमिलेको भन्दै ग्याबिन लगाएर सडकको ग्रेड मिलाउने काम भइरहेको छ । उहाँले भन्नुभयो, “पहिलेको तुलनामा कम्तीमा २० मिटर उचाइ घटिसकेको छ । झरनाको उचाइ एक सय मिटरभन्दा बढी थियो ।” 

सडक निर्माणअघि यात्रुले टाउको माथितिर फर्काएर हेर्नुपर्ने अवस्था रहेको थियो भने अहिले उचाइ घटेर सिधा हेर्दा पनि देखिन्छ ।