• १३ असोज २०८१, आइतबार

काठमाडौँको तापक्रम ३४‍‍.४ डिग्री सेल्सियस

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ १७ गते । काठमाडौँको तापक्रम बिहीबार ३४.४ डिग्री सेल्सियस पुगेको छ । विगत केही दिन यता उपत्यकाको तापक्रम बढ्दै गइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार  अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ ।

विभागका मौसमविद् गोविन्द झाका अनुसार अहिले स्थानीय वायु  र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि बागमती प्रदेशदेखि पश्चिमको भूभागका पानी पर्ने सम्भावना छैन । 

उहाँले भन्नुभयो, “अहिले स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तर बागमती प्रदेशदेखि पश्चिमी भूभागमा पानी पर्ने सम्भावना  छैन । त्यसकारण काठमाडौँ उपत्यकासहित पश्चिमी भूभागमा तापक्रम अझै बढ्ने देखिन्छ ।”

मौसमविद्ले यस वर्ष गतवर्षको भन्दा तापक्रम बढ्ने र वर्षा पनि बढी हुने प्रक्षेपण गर्नुभएको थियो । काठमाडौँ उपत्यकामा अहिलेसम्मको सबैभन्दा बढी तापक्रम ३६.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । जुन सन् १९८९ मे ७ मा मापन भएको थियो । 

मौसमविद् झाका अनुसार अहिले कोशी प्रदेशको उदयपुर, सङ्खुवासभा बागमती प्रदेशको सिन्धुली, मकवानपुर र गण्डकी प्रदेशको स्याङ्जा र कास्कीको केही भूभागमा हल्का वर्षा भइरहेको छ । 

देशमा सबैभन्दा बढी तापक्रम धनगढीमा पुगेको छ । धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ । यस्तै नेपालगन्जको तापक्रम ४३.५ डिग्री सेल्सियस पुगेको छ । वीरेन्द्रनगरको तापक्रम ४१ डिग्री पुगेको मौसमविद् झाले बताउनुभयो । 

यी भूभागमा तत्काल पानी पर्ने सम्भावना नभएकाले तापक्रम अझै बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ ।