• १३ असोज २०८१, आइतबार

विद्यार्थी लेकतिर, विद्यालय बन्द

blog

मुगु समाचारदाता

मुगु, जेठ १७ गते । मुगमकार्मारोङ गाउँपालिकाका विद्यार्थी यार्चागुम्बा सङ्कलन गर्न हिँडेपछि विद्यालय बन्द भएका छन् । यार्चागुम्बा सङ्कलन गर्ने मौसम सुरु भएसँगै गाउँपालिकाका विद्यार्थी यार्चा सङ्कलन गर्न जाने गर्छन् । मुगमकार्मारोङ गाउँपालिकाको कार्यविधि अनुसार यार्चागुम्बा सङ्कलनका लागि जेठ १६ गतेबाट सामुदायिक वन क्षेत्रमा अनुमति दिइएको छ । गाउँपालिकाका १२ वटा विद्यालयका विद्यार्थी यार्चागुम्बा सङ्कलन गर्न पाटनतर्फ लागेका छन् ।

बुद्ध नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लग्नसिंह सेजुवालका अनुसार विद्यार्थी यार्चा सङ्कलन गर्न हिँडेपछि विद्यालय बन्द गर्नुपर्ने अवस्थामा रहेको छ । यस क्षेत्रका स्थानीयको आम्दानीको प्रमुख स्रोत नै यार्चागुम्बा भएकाले अभिभावकसँगै विद्यार्थी पनि वन क्षेत्रमा जाने गरेको प्रधानाध्यापक सेजुवालले बताउनुभयो ।

स्थानीय सोनाम पाजिङ तामाङका अनुसार समुदायको प्रमुख आम्दानीको स्रोत नै यार्चागुम्बा हो । यार्चागुम्बा सङ्कलनका लागि यहाँ १० वर्षदेखि ६० वर्ष उमेर समूहका मानिस जडीबुटी सङ्कलनका लागि निस्कन्छन् । कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठुलो कोइकी, चाकु, हाड्दाङ, चेस्टु, रोमन पटान, केले लेक, छुल्दुर, टेडडिङ, याम्जामालगायतका सामुदायिक वन क्षेत्रमा यार्चा सङ्कलनका लागि स्थानीय जाने गरेका छन् । एक मौसममा एक जनाले एक लाखदेखि दुई लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् । असारको दोस्रो हप्तासम्म पाटनमा जडीबुटी खोज्न स्थानीय जाने गरेका छन् । स्थानीय यार्चागुम्बा व्यापारी उर्गिन लामाले गुणस्तरीय यार्चागुम्बाको मूल्य प्रतिगोटा पाँच सयदेखि सात सय रुपियाँसम्म पर्ने बताउनुभयो । बुटिक प्रतिकेजी १६ लाखदेखि १८ लाख रुपियाँसम्म पर्ने गरेको व्यापारीले बताएका छन् । मुगु र डोल्फु सामुदायिक वन क्षेत्रबाट हरेक वर्ष १८० केजीसम्म यार्चागुम्बा उत्पादन हुने गरेको लामाले बताउनुभयो ।

मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार पालिकाको तल्लो बेँसीका नेपाल राष्ट्रिय आधारभूत विद्यालय छाइल, नेपाल राष्ट्रिय विद्यालय पुलु, चिमात्तको आनन्द आधारभूत विद्यालय विद्यार्थीविहीन भएका छन् । 

त्यसै गरी जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई यार्चागुम्बा सङ्कलनको सहजताका लागि गाउँपालिकाको शिक्षा कार्यविधि अनुसार बर्खे बिदा जेठ ८ बाट असार ९ सम्म दिने गरेको उहाँले बताउनुभयो । अन्य १० वटा विद्यालयमा हिउँदे बिदा पर्ने भएकाले अहिले ती विद्यालयका माथिल्ला कक्षाका छात्रछात्रा पनि यार्चा सङ्कलनका लागि अभिभावकसँगै जाने भएकाले प्रारम्भिक बालविकासका बालबालिकालाई मात्र विद्यालयमा पठनपाठन भइरहेको पालिकाका अध्यक्षले बताउनुभयो । मुगमकार्मारोङ गाउँपालिकाको कार्यविधि अनुसार जिल्लाभन्दा बाहिरका व्यक्तिले यार्चागुम्बा सङ्कलनका लागि दुई हजार पाँच सय रुपियाँ, जिल्लाभित्रका स्थानीयलाई दुई हजार रुपियाँ राजस्व पालिकालाई बुझाउनु पर्छ । पालिकाको रेकर्ड अनुसार यार्चा सङ्कलनको मौसममा मुगु र डोल्फु सामुदायिक वन क्षेत्रमा छ हजारसम्म सङ्कलनकर्ता जाने गरेका छन् ।