• १५ असार २०८१, शनिबार

गत वर्षभन्दा यस वर्ष डढेलो दोब्बर

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ १७ गते । रुकुमपश्चिममा गत वर्षभन्दा यस वर्ष दोब्बरभन्दा बढी भूभागमा आगलागी भएको छ । यस वर्ष जिल्लाका विभिन्न ७५ स्थानमा आगलागी हुँदा दुई हजार ६५० हेक्टर क्षेत्रफलमा आगलागी भएको हो । डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार यस वर्ष गत वर्षभन्दा दोब्बरभन्दा बढी भागमा डढेलोले क्षति गरेको छ । गत वर्ष २६ स्थानमा आगलागी हुँदा एक हजार २३४ हेक्टर भूभागमा आगलागी भएको थियो । 

यस वर्ष ७५ स्थानमा आगलागी भएको छ भने दुई हजार ६५० हेक्टर क्षेत्रमा आगलागी भएको हो । डिभिजनल प्रमुख परियारका अनुसार डढेलोका कारण सबैभन्दा बढी सामुदायिक वन क्षेत्रमा क्षति भएको छ । उहाँले ५३ वटा सामुदायिक वन, छ वटा राष्ट्रिय वन, चार वटा निजी वन, पाँच वटा कोणधारी वन, तीन वटा चौडापाते, तीन वटा खाली क्षेत्र र एक लेकाली वन क्षेत्रमा डढेलो लागेको जानकारी दिनुभयो । डढेलोका कारण दुई हजार ८९४ वटा रुख, पाँच हजार ८५२ पोल र ३७ हजार ९३५ वटा बिरुवामा क्षति भएको छ । आगलागीका यी घटना पछिल्लो दुई महिनायता भएका हुन् । डिभिजनल प्रमुख परियारका अनुसार नेपाल प्रहरी, नेपाली सेना, नगर प्रहरी, स्थानीयलगायतको समन्वयमा आगलागी नियन्त्रण गरिएको हो । आगलागीबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । करिब एक दर्जन घरगोठ जलेका छन् । स्थानीयले घाँस पलाउने भन्दै खरमा आगो लगाउने, चुरोटका ठुटा जथाभाबी फाल्दा, भिरबाट ढुङ्गा खस्दा आगलागी हुने गरेको अनुमान गरिन्छ ।