• १५ असार २०८१, शनिबार

कालो चिबे चरा लोप हुँदै

blog

मुगु समाचारदाता

मुगु, जेठ १७ गते । हिमाली जिल्ला मुगुको सामुदायिक र मध्यवर्ती वन क्षेत्रमा सहजै देखिने कालो चिबे चरा हाल निकै कम मात्रामा देखिने गरेको छ । समुदायले दिनप्रतिदिन रुख कटान गर्न थालेपछि कालो चिबे चरा र अन्य प्रजातिका चरा कम देखिएका हुन् ।

छायानाथ रारा नगरपालिका–६ को सामुदायिक वन र मध्यवर्ती वन क्षेत्रमा गुँड लगाएर बस्ने उक्त चरा जलवायु परिवर्तनका कारण र वन क्षेत्र संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको स्थानीय अमरबहादुर कार्कीले बताउनुभयो । केही वर्ष पहिलेसम्म कालो चिबे चरालगायत रातो जुँगे जुरेली, आकासे चरी, स्वर्ग चरी, सिउरे बगडी चरी वन क्षेत्रमा सजिलैसँग देख्न पाइन्थे तर पछिल्ला दिनमा यी चरा देखिन छाडेका छन् । 

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख राजु घिमिरले मध्यवर्तीको वन क्षेत्रमा गुँड लगाइ बस्ने कालो चिबे चरालगायत अन्य चरा जलवायु परिवर्तनका कारणले र बढ्दो ध्वनि, धुवाँ र माटो प्रदूषणका कारण लोप हुने अवस्थामा पुगेको बताउनुभयो । निकुञ्जले पाँच/पाँच वर्षको अन्तरालमा चरा गणना गर्ने गरेको छ । पछिल्ला वर्षमा कालो चिबे चरा, रातो जुँगे जुरेली, आकाशे चरी, स्वर्ग चरी, सिउरे बगडी चरीलगायत मध्यवर्ती वन क्षेत्रमा फेला पर्न नसकेको उहाँले जनाउनुभयो ।