• १३ मंसिर २०८१, बिहिबार

तेह्र वर्षमा पनि पूरा भएन दामाचौर पुल

blog

चापाकोट–८, दामाचौर र रामपुर–६, पाल्पामा निर्माणाधीन कालीगण्डकी पुल ।

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ १७ गते  । चीनबाट गण्डकी प्रदेश हुँदै भारतसँग सिधा सम्पर्क जोड्ने सडकको दामाचौरस्थित कालीगण्डकी पुलको निर्माण कार्य १३ वर्षमा ७० प्रतिशत मात्र काम भएको छ ।

निर्माणाधीन मोटरेबल पुल चापाकोट नगरपालिका–८, दामाचौर स्याङ्जा, रामपुर–६, लुम्बिनी प्रदेश हुँदै भारतीय सीमा सुस्ता जोड्ने सडकको ट्रस पुल हो । २०६८ साल असार २६ गते एमएस इलाइट एसबिए जेभी कपन काठमाडौँले तीन वर्षमा काम सक्ने गरी सम्झौता गरेको थियो । भ्याटबाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँ ६० पैसामा निर्माण सक्ने सम्झौता थियो । इलाइटले ६०/६० मिटरका तीन स्पाममा १८१.६९ मिटर लम्बाइ रहेको पुलमा बिचमा दुईसहित चार पिल्लर राख्ने गरी काम थालेको थियो । 

वेल फाउन्डेसन डिजाइनमा काम गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएको इलाइटले दुई छेउमा पिल्लर राखेर नदीको मध्य भागमा पिल्लर बनाउने क्रममा डिजाइन अनुसार काम अगाडि नबढेपछि पुल बन्ने प्रक्रिया रोकिएको थियो । 

डिजाइन अनुसार वेल १५/१५ मिटर जमिनमुनि दब्नुपर्नेमा पाँच मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण कम्पनीले काम रोक्नु परेको हो । डिजाइन फेल हुनुका कारण मोटरेबल पुल अलपत्र परेको समाचार २०७६ साल फागुन १५ गतेको गोरखापत्रमा दैनिकमा प्रकाशन भएसँगै पुल महाशाखाले २०७८ मा वेल फाउन्डेसनको ठाउँमा पाइल फाउन्डेसनमा पुल निर्माणको जिम्मा निर्माण कम्पनीलाई दिएको थियो । सम्झौताको नौ वर्षपछि पुल महाशाखाले डिजाइन परिवर्तन गरेसँगै निर्माण कम्पनीले पुल निर्माणमा सक्रियता बढाएको थियो । तीन वर्षमा सकिने काम धेरै वर्षपछि तीव्रता पाएको बताउँदै सडक डिभिजनका इन्जिनियर प्रताप माकाले पुलको एक स्पानमा ट्रस हाल्न अझै बाँकी रहेको बताउनुभयो । 

पुलको दुई स्पानमा स्ल्याप ढलान र पहुँचमार्ग निर्माण, रङरोगन बाँकी रहेको इन्जिनियर माकाले बताउनुभयो । दामाचौर पुलका निर्माण व्यवसायी श्याम केसीले पहिलो चरणमा डिजाइनले समस्या पारेको बताउँदै दोस्रो चरणमा पाइल फाउन्डेसनमा बिचको पिल्लर बनाएर काम थाल्दा कालीगण्डकीले ट्रस बगाएको बताउनुभयो । पुल निर्माणमा ढिलाइ हुनुको कारण बजेटको अभाव भएको बताउँदै केसीले पुल बनाउनै पाँच करोडको जग्गा बेचेको गुनासो गर्नुभयो । गत साल र यस आवमा काम गरेको दुई करोडभन्दा बढी रकम लिन बाँकी रहेको बताउँदै तत्कालै सो रकम भुक्तानी भए यसै आर्थिक वर्षमा काम सक्ने केसीको भनाइ थियो । 

डिजाइन गर्ने कम्पनीले गलत गर्दा आफूहरू नराम्रोसँग घाटामा पुगेको बताउँदै केसी भन्नुहुन्छ, “जग्गाजमिन भएको भए बेचेर सबै काम सक्ने थियौँ तर छैन, के गर्ने !”  पुल निर्माण भएपछि भारतबाट ज्याग्दीखोला कोरिडोर हुँदै आँधीखोला कोरिडोर, पर्वत, मुक्तिनाथ हुँदै चीन पुगिने छ । पुलको प्रयोगबाट स्थानीय नगदेबाली बुटवल, नारायणगढ जस्ता ठाउँमा लैजान सकिने छ । पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय नागरिक मर्कामा परेका छन् ।