• १२ साउन २०८१, शनिबार

नवप्रवर्तन उद्यमी विकास सम्मेलन सुरु

blog

मकवानपुर समाचारदाता

हेटौँडा, जेठ १७ गते । महिला र युवालाई लक्षित गरी हेटौँडामा बुधबारबाट नवप्रवर्तन उद्यमी विकास सम्मेलन सुरु भएको छ । 

बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौँडा, उद्योग सङ्घ मकवानपुर, महिला उद्यमी फोरम र एआइएम स्टार्टअफ बिजनेस इन्क्यिुवेसन सेन्टरको संयुक्त आयोजनामा भएको सम्मेलनमा डिजिटल मार्केटिङ, नवउद्यम प्रवर्तनका लागि सरकारी नीति तथा पहल र उद्यमका लागि एआईका बारेमा छलफल हुने छ । यस्तै स्टार्टअप र उद्यममा महिला सहभागिता तथा स्टार्टअपका चुनौतीका बारेमा सम्मेलनमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले नवउद्यम प्रवर्तनका लागि उद्यमी र नीति निर्माताबिच समन्वय गर्नु आवश्यक भएको बताउनुभयो । 

उहाँले प्रविधिले चुनौती थपिएको र प्रविधिको प्रयोग आवश्यक भएको भन्दै युवामा देखिएको निराशालाई रोक्न विश्वासको वातावरण निर्माण आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले उपमहानगरले साना साना महिला र युवा उद्यमीलाई प्रोत्साहित गर्ने नीति लिएको बताउनुभयो । 

बागमती प्रदेशको उद्योग वाणिज्य भूमि प्रशासन मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीले युवालाई नवप्रवर्तनमा लगाउनु आवश्यक भएको भन्दै सरकार नवप्रवर्तनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । 

उद्योग सङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेलले नवउद्यमी र महिला उद्यमीको व्यवसाय प्रवर्धन गर्न र उद्यमशीलतामा लाग्न चाहने युवा र महिला उद्यमीलाई लक्षित गरेर सम्मेलन आयोजना गरिएको बताउनुभयो । उहाँले स्वरोजगार हुन आत्मनिर्भर बन्न चाहने महिलाको क्षमता विकास र प्रवर्धन आवश्यक भएको बताउँदै एआईको प्रयोगबाट बजारीकरण गर्ने ।

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढार्इं, मकवानपुर बहुमखी क्याम्पसका क्याम्पस प्रमुख यम सिलवाललगायतले नवउद्यम प्रवर्तन अहिलेको आवश्यकता भएको बताउनुभयो ।