• १६ भदौ २०८१, आइतबार

पशुपतिनाथका चारै ढोका खुला गरिने

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ १७ गते। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गर्ने निर्णय गरेको छ। धार्मिक एवं परम्परागत पक्षलाई कायम राखेर दर्शनार्थीलाई सहज रुपमा भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं परिषद्का अध्यक्ष हितबहादुर तामाङले पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८ बजेसम्म खोल्ने निर्णय भएको बताउनुभएको हो। उहाँले भक्तजनको बढोत्तरी भएका कारण दर्शन र पूजापाठ सहज, सुरक्षित र व्यवस्थित गर्न यो निर्णय गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “धार्मिक पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन धेरै कुरा व्यवस्थित गर्नुपर्ने छ। अहिले दर्शन गर्ने वातावरण सहज बनाउनुपर्ने देखियो। त्यसैले मन्दिरमा आउने हरेक भक्तजनले सहजै दर्शन गर्न पाउने व्यवस्था मिलाएका हौँ।”

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले प्रत्येक दर्शनार्थीलाई व्यवस्थित रुपबाट पशुपतिनाथको दर्शन गर्न सक्ने व्यवस्था मिलाउने मन्दिर तथा पूजा व्यवस्था नियमावलीअनुसार यो निर्णय गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार अहिलेसम्म पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९:३० बजेदेखि ११:३० सम्म खुला गरिन्छ। उहाँले भन्नुभयो, “दर्शनार्थीको सङ्ख्या बृद्धि भएपछि सजिलो गरी दर्शन गर्न असुविधा भइरहेको गुनासो आयो। त्यसैले परम्परागत धार्मिक पक्षलाई कायम राखेर दर्शनार्थीको सुविधालाई दृष्टिगत गरी चारवटै ढोका खुला गरिएको हो।”

डा. थापाले पशुपतिनाथ मन्दिरभित्र र बाहिर पाउने चन्दनमा पनि एकरुपता ल्याइने बताउनुभयो। साथै हरेक दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरको अभिषेक गरिएको जल पनि निःशुल्क दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। महाशिवरात्री पर्वका अवसर, साउने सोमबारसहित विशेष पर्वमा मात्रै चारै ढोका खुला गरिन्छ।

गुरूयोजना तयार

संस्कृतिमन्त्री तामाङले धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ पशुपतिनाथ मन्दिरको गुरूयोजना तयार गरिएको बताउनुभयो। उहाँले गुरूयोजना अध्ययन गर्दै क्रमशः कार्यान्वयन गर्दै जाने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “कतिपय काम विगतको निर्णयका आधारमा कार्यक्रमिक रुपमा अघि बढाउनुपर्ने हुन्छ। कतिपय काममा नीतिगत पक्षमा सुधारमार्फत अघि बढाउनुपर्ने छ। क्रमशः काम अघि बढाउँदै छौँ।”