फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १६ गते । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त हुनुभएका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई शपथ गराउनुभएको हो ।
लगत्तै प्रदेश प्रमुख भट्टले विन्दुकुमार थापालाई ऊर्जा तथा सामाजिक विकास मन्त्री र डा. टकराज गुरुङलाई आर्थिक मामिला मन्त्रीको रूपमा शपथ लिनुभयो । मुख्यमन्त्री पाण्डे सातमध्ये चार मन्त्रालय आफैँसँग राखेर तीन सदस्यीय मन्त्रिमण्डल बनाउनुभएको हो ।
मुख्यमन्त्री पाण्डे गोरखा क्षेत्र नम्बर २ (२) बाट निर्वाचित हुनुभएको हो । मन्त्री थापा कास्की र गुरुङ लमजुङबाट निर्वाचित सांसद हुनुहुन्छ । सर्वोच्च अदालतले सोमबार पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार पाण्डे नयाँ सरकार बनेको हो । गण्डकीमा नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठुलो दल हो । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । सरकारमा राप्रपाको पनि समर्थन जुटाउने र राप्रपाबाट पनि मन्त्री नियुक्त गर्ने प्रयास भए पनि बुधबार राप्रपा सरकारमा सहभागी भएन ।
पाण्डे दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको हो । यसअघि केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्रीबाट पाण्डेले चैत २१ गते राजीनामा दिनुभएको थियो । उहाँ पहिलो पटक २०८० वैशाख १४ गते मुख्यमन्त्री बन्नुभएको थियो । पाण्डेले ३० दिनभित्र अर्थात् असार १३ गतेभित्रै विश्वासको मत लिनुपर्छ ।