गोकर्ण पौडेल
तुलसीपुर, जेठ १६ गते । तुलसीपुर उपमहानगरपालिका –१९ सक्राममा रहेको क्रान्ति सङ्ग्रहालय संरक्षणको पर्खाइमा छ ।२०६२–६३ को जनआन्दोलनपश्चात् तत्कालीन नेकपा (माओवादी केन्द्र) का सेनालाई व्यवस्थापन गर्न दीर्घस्मृति बिग्रेडमा प्रारम्भिक चरणमा करिब दुई हजार सेना राखिएको थियो ।
लामाखोला महिला सामुदायिक वनभित्रको करिब १५ बिघा क्षेत्रफलमा सेना बस्नका लागि आवास, विद्युत्, खानेपानी, खेल मैदान, गेट, सेन्ट्री प्वाइन्ट र शौचालय निर्माण गरिएको थियो । सरकारको लाखाैं बजेटबाट निर्माण गरिएको ती अधिकांश संरचना बेवारिसे अवस्थामा पुगेका छन् ।
तत्कालीन माओवादी सेनालाई नेपाली सेनामा समायोजन गरिएसँगै त्यस क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले गर्दैआएको थियो । स्थानीय सरकारलाई तत्कालीन सशस्त्र प्रहरीले हस्तान्तरण गरेको थियो भने स्थानीय तहले स्थानीयवासीलाई सो सङ्ग्रहालय संरक्षणका लागि हस्तान्तरण गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका –१९ का वडाध्यक्ष प्रेमनाथ योगीले सङ्ग्रहालय संरक्षणका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरे पनि पर्याप्त बजेटका अभाव हुँदैआएको बताउनुभयो । उहाँले विस्तृत परियोजनामा १६ करोडको बजेट लागतमा संरचनामा निर्माण गरिने कुरा उल्लेख गरिएको बताउनुभयो । उहाँले सङ्ग्रहालयभित्र पालिकास्तरबाट खेल मैदान निर्माण गरिएको बताउनुभयो ।
वडा १९ का वडा सदस्य एवम् स्थानीय रामबहादुर पौडेलका अनुसार परियोजनामा तत्कालीन जनसेनासँग सम्बन्धित रहेको सेन्ट्री प्वाइन्ट, आवास, गेटको संरक्षण गर्ने विषयवस्तुहरु छन् । त्यहाँ ल्याइएको खानेपानी भने स्थानीयवासीले उपयोग गर्दैआएको स्थानीय नन्दलाल खड्काले बताउनुभयो ।
त्यस क्षेत्रको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाले एक जना हेरालुका लागि मासिकरुपमा तलब प्रदान गर्दैआएको छ । परियोजनामा खेल मैदान, पानी पोखरी, बाल उद्यानजस्ता संरचना निर्माण गरिने उल्लेख छ ।