• १५ असार २०८१, शनिबार

सुर्खेतमा लोडसेडिङ : तत्काल समस्या समाधान नभए सङ्घर्ष

blog

ललित बसेल

सुर्खेत, जेठ १५ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने अनियमित लोडसेडिङका साथै लो भोल्टेजले प्रदेशवासी आजित बनेका छन् । गर्मी मौसम सुरु भएलगत्तै वीरेन्द्रनगरमा अनियमित लोडसेडिङ हुनुका साथै लो भोल्टेजले कुनै पनि काम सहज हुन सकेको छैन । 

घोषित रूपमा लोडसेडिङ नभए पनि वीरेन्द्रनगरमा मर्मतसम्भारका नाममा लोडसेडिङ हुने गरेको छ । यस्तै लो भोल्टेजले न पङ्खा चल्छ न कम्प्युटरलगायतका विद्युतीय उपकरण नै चल्ने गरेका छन् । जसका कारण सर्वसाधारणदेखि उद्योगी, व्यवसायी प्रत्यक्ष मारमा परेका छन् । 

अनियमित लोडसेडिङ र लो भोल्टेजको समस्या बढ्दै गएपछि नागरिक समाज तथा निजी क्षेत्रले नेपाल विद्युत् प्राधिकरण सुर्खेत र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । एक साताभित्र समस्या समाधान नभए नागरिकस्तरबाट सङ्घर्ष थालिने चेतावनी दिइएको छ । 

नागरिक अगुवा गोविन्द कोइरालाले विद्युत् प्राधिकरणले जनतालाई कुनै सूचना नै नदिएर अघोषित लोडसेडिङ गरिरहेको आरोप लगाउनुभयो । उहाँले प्रदेश राजधानीवासी अनियमित लोडसेडिङ र लो भोल्टेजबाट चर्को मारमा परेको बताउँदै एक साताभित्र यो समस्या समाधान नगरिए नागरिकस्तरबाट प्राधिकरणविरुद्ध सङ्घर्ष गरिने जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश राजधानीवासी लो भोल्टेज, खानेपानीको चर्को मारमा परेको हुँदा सम्बन्धित पक्ष यसको समाधानमा बेवास्ता गरेको आरोप लगाउनुभयो । 

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले अनियमित लोडसेडिङ र लो भोल्टेजले उद्योगी व्यवसायी निकै मारमा परेको बताउनुभयो । विगतमा विद्युत् प्रणालीमा सुधार गर्दै विद्युत् वितरण गर्ने गरिएको बताउँदै उहाँले तर अहिले भने बिनासूचना अनियमित लोडसेडिङ हुने गरेको उल्लेख गर्नुभयो । 

यस्तै लो भोल्टेजले कम्प्युटर, पङ्खालगायतका उपकरण नै चल्न नसकेको उहाँको भनाइ छ । विद्युत् प्राधिकरणले समस्या समाधान गर्न बेवास्ता गरेको आरोप लगाउँदै अध्यक्ष कँडेलले एक साताभित्र समस्या समाधान गर्न सुझाव दिनुभयो । साथै प्राधिकरणलाई परेको अप्ठेरोलाई समाधान गर्न निजी क्षेत्रले पनि सहजीकरण गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । 

यता प्राधिकरण सुर्खेत वितरण केन्द्रले भने दिनदिनै माग बढ्दै गएको हुँदा सहज रूपमा विद्युत् आपूर्ति गर्न नसकेको जनाएको छ । सुर्खेत वितरण प्रमुख अशोक लोहनीले कोहलपुर–सुर्खेतको ३३ केभी लाइन निकै पुरानो भएको र यसैबाट विद्युत् आपूर्ति गर्दा लोड बढेकाले छिन छिनमा विद्युत् जाने र लो भोल्टेज हुने गरेको बताउनुभयो । 

त्यसको विकल्पका रूपमा पश्चिम बाबियाचौरतिरबाट कैलालीको ११ केभी लाइन ल्याउने तयारी गरिरहेको तर सुर्खेतको वराहताल गाउँपालिका–५, बड्डीचौरका स्थानीयले अवरोध गर्दा ल्याउन नसकेको उहाँले बताउनुभयो । 

बड्डीचौरमा दुई किलोमिटरमा गाडिएका करिब सात वटा विद्युत्का पोल स्थानीयले उखेलेर फ्याँकिदिएका छन् । अवरोध हटाउन सके बढीमा एक महिनाभित्र ११ केभी लाइन वीरेन्द्रनगरमा ल्याएर अनियमित लोडसेडिङ र लो भोल्टेजको समस्या तत्कालका लागि समाधान गर्न सकिने प्राधिकरण प्रमुख लोहनीले बताउनुभयो । अहिले प्रदेश राजधानी सुर्खेतमा १२ मेगावाट विद्युत्को माग छ । 

यसैबिच सुर्खेत उद्योग वाणिज्य सङ्घले विद्युत् प्राधिकरण सुर्खेतलाई अनियमित लोडसेडिङ र लो भोल्टेजको समस्या तत्काल समाधान गर्न भन्दै ज्ञापनपत्र बुझाएको छ । सङ्घका अध्यक्ष कँडेलले प्राधिकरण प्रमुख अशोक लोहनीलाई ज्ञापनपत्र बुझाउँदै अविलम्ब समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । अनियमित लोडसेडिङ र लो भोल्टेजको समस्या समाधान नभए निजी क्षेत्रले आन्दोलन गर्ने चेतावनी दिँदै गम्भीर भएर समस्या समाधानको पहल गर्न आग्रह गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेयलाई लो भोल्टेजको समस्या समाधान गर्न विद्युत् प्राधिकरणलाई सहयोग गर्न ध्यानाकर्षण गराइएको हो । उहाँले लो भोल्टेजको समस्या सबैले भोगेको हुँदा पश्चिमको लाइन ल्याउन भइरहेको अवरोध समाधानका लागि पहल गरिने बताउनुभयो । त्यसका लागि वराहताल गाउँपालिका, सम्बन्धित वडा, विद्युत् प्राधिकरण, प्रशासन, निजी क्षेत्र सँगसँगै गई समाधानका उपाय खोजी गरी विद्युत्को समस्या हटाउन सकिने उहाँले जनाउनुभयो ।