• ४ असार २०८१, मङ्गलबार

विकासको पहिलो पूर्वाधार सडक नै हो : मुख्यमन्त्री कँडेल

blog

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल । फाइल तस्बिर

काँक्रेविहार (सुर्खेत), जेठ १४ गते । राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो पूर्वाधार सडक नै भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज मन्त्रालयमा गरेको कार्यक्रममा उहाँले कर्णाली र भेरी कोरिडोर निर्माणाधीन रहेको जानकारी दिनुभयो । 

कर्णाली प्रदेश सरकारको मुख्य प्राथमिकता सडक नै रहेको उहाँले स्पष्ट पार्नुभयो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतका सबै जिल्लाका कार्यालय प्रमुख तथा अधिकारीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले होटलबाट योजना वितरण भन्ने समाचार आगामी दिन सुन्न नपरोस् भन्दै सचेत गराउनुभयो । कर्णालीका जनताले सहज र ढुक्कसँग यात्रा गर्न नपाएकाले अब त्यस्ता समस्या पार गर्नुपर्ने उहाँको भनाइ छ । सबै निर्माण व्यवसायीको आचरण खराब नभएको बताउनुहुँदै बजेट निर्माणमा ध्यान नदिँदा विकास निर्माणका काम अलपत्र परेको उहाँको जिकिर थियो । 

अहिले बजेट सुनिश्चित भएका योजनामा निर्माण व्यवसायी र कार्यालय प्रमुखले सहकार्य गरेर निकास निकाली काम गर्न निर्देशन दिनुभयो । जनताले निवेदन बोकेर मन्त्रालय धाउने परिस्थितिको अन्त्य गर्न उहाँको निर्देशन छ । बजेट कम खर्च गरी बजेट बचाएर कर्णालीको विकास नहुने भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बताउनुभयो । उहाँले कार्यालय प्रमुखले जिल्लामा गएर सर्वदलीय सर्वपक्षीय छलफल गरी जनताले बुझ्ने गरी योजनाका बारे जानकारी गराउनुपर्ने र योजना सम्पन्न गर्न आग्रह गर्नुभयो । रासस