• ४ असार २०८१, मङ्गलबार

गोरखापत्रमा प्रेस युनियनको शुभकामना आदान–प्रदान

blog

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल शुभकामना मन्तव्य राख्नुहुँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौं, जेठ १४ गते । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाले सोमबार शुभकामना आदन–प्रदान एवं सम्मान कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले प्रेस र अभिब्यक्ति स्वतन्त्रता लोकतन्त्रको पर्याय भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक ब्यवस्थामा मात्र प्रेस र अभिब्यक्ति स्वतन्त्रताको सम्मान हुने धारणा राख्नुभयो । 


वर्तमान अवस्थामा सरकारी सञ्चार माध्यमले थप जिम्मेवार भएर आम जनताप्रति उत्तरदायी बन्दै समाचार सामग्रीहरु पस्किनु पर्ने बताउनुभयो । पूर्व सूचना आयुक्त समेत रहनु भएका पोखरेलले सरकारी सञ्चार माध्यम भनेको जो सत्तामा हुन्छ उसैको हो भन्ने भाष्य निर्माण भएकाले त्यसलाई चिर्दै आगाडि बढ्नु पर्ने बताउनुभयो । 

उहाँले वर्तमान समयमा सामाजिक सञ्जालले पस्कने भ्रामक समाचारले आम जनतालाई दिगभ्रमित पारिरहको अवस्थामा सही सूचना प्रदान गर्न सकेमा लोकतन्त्र थप सुदृढ हुने विश्वास ब्यक्त गर्नुभयो । 


गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र सधैं राज्य र जनताप्रति जवाफदेही रहँदैआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गोरखापत्र संस्थानका प्रकाशनले सही र प्रमाणित समाचार, समसामयिक विचारहरु पस्केर एकातार्फ ब्यावसयिक पत्रकारिताको धर्म निर्वाह गर्दैआएको छ । अर्कोतर्फ यसले बजारको प्रतिस्पर्धा खरो उत्रेर आफ्ना खर्चहरुको ब्यवस्थापन गर्दै नाफा समेत आर्जन गरेर बार्षिक करोडौं रुपियाँ सरकारलाई कर तिर्दै आएको छ ।’’ 

आगामी दिनमा पनि गोरखापत्रले आफ्नो पेशागत निष्ठाप्रति अविचलित भएर अगाडि बढ्ने बताउनुभयो । संस्थानलाई थप सुदृढ बनाउने काममा नीतिगत सुधारको काममा  वर्तमान ब्यवस्थापन लागिरहेको प्रष्ट पार्नुभयो ।   


नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले श्रमजीवि पत्रकारको हक अधिकारका लागि प्रेस युनियन सधैं अग्रपङ्तिमा रहँदैआएको बताउनुभयो । प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष राधा चालिसेले गोरखापत्रको श्रमजीवि पत्रकारका हक अधिकारका लागि युनियनले ब्यवस्थापनसँग राख्दै आएका केही माग पूरा भएको र केही पूरा गर्न बाँकी रहेको बताउनुभयो ।  

गोरखापत्र प्रतिष्ठान शाखाका पूर्व अध्यक्ष सरोज अधिकारीले युनियनको प्रतिष्ठान शाखा स्थापनाको लागि गर्नुभएको विशेष योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको छ । 

सो अवसरमा गोरखापत्र दैनिकका सहसम्पादक स्वर्गीय शेषकान्त पण्डितको छोरी समृद्धि पण्डितको शिक्षाका लागि पर्यटन ब्यवसायी श्याम चालिसेले उपलब्ध गराउनु भएको २५ हजार रुपियाँको सहयोग युनियनका कोषाध्यक्ष सुकृत नेपाललाई हस्तान्तरण गर्नुभयो ।