• ४ असार २०८१, मङ्गलबार

काकाकुल अँधेरीगाउँ

blog

स्थानीय युवाले ट्र्याक्टरमामार्फत पानी ल्याउएर वितरण गर्दै । तस्बिर:रासस

सिरहा, जेठ १४ गते । मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर-पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ । मिर्चैया नगरपालिका-९ को यो गाउँवासीले हिजोआज धित मरुञ्जेल पानी पिउन पाएका छैनन्, त्यो पनि महिनौँसम्म । खडेरी लम्बिएको छ । खोला, इनार र कुवा सुकेका छन् । 

त्यसैले अझै कति दिनसम्म यस्तो नियति भोग्नुपर्ने हो टुङ्गो छैन । पानीबिनाको जिन्दगी कल्पना पनि गर्न सकिँदैन तर यहाँका नागरिकले यति बेला पानीकै लागि तीनै तहका सरकारसँग गुहार मागिरहेका छन् । “एक महिना अघिसम्म नजिकैको इनारमा धमिलै भए पनि पानी रसाउँदै थियो, अहिले त्यो पनि सुकिसकेको छ । अब के पीएर बाँच्ने, कहाँबाट पानी किनेर ल्याउने”, स्थानीय शोभा लकान्द्रीले भन्नुहुन्छ, “हामी बाआमा त भोकप्यास सहुँला तर छोराछोरीले काकाकुल भएर पानी माग्दा के दिनु ? अब पानीबिना तड्पिनुपर्ने अवस्था आउँदैछ ।” 

कयौँ दिन खाना पकाउनका लागि आवश्यक धमिलो पानीसमेत नभएर चियामै बालबच्चालाई भुलाएको र आफुहरु भोकै बसेको पीडा उहाँले सुनाउनुभयो । अँधेरीगाउँमा ३६ परिवार बसोबास गर्छन् । खानेपानीको चरम अभाव यहाँको साझा समस्या हो तर समस्या टार्न स्थानीय सरकारको ध्यान जानसकेको छैन । स्थानीय वीरेन्द्रकुमार यादवले खानेपानी अभाव पूर्तिका लागि स्थानीय युवाले नजिकैको चोहर्वाबाट ट्र्याक्टरमामार्फत पानी ल्याउने गरेको सुनाउनुभयो । “हामीले बेलाबेला चोहर्वाबाट खानेपानी ल्याउँछौँ । त्योबेला पानीका लागि स्थानीयले गरिरहेको लुछाचुडी देखेर सामाजिक सञ्जालमा अन्य देशमा देखेका दृश्य झल्झली आँखामा नाच्छन् ”, यादव भन्नुहुन्छ, “यहाँका बालबालिका आफ्ना अभिभावकलाई अघाउञ्जेल खाने गरी धेरै पानी माग्न गरेको बिलौला सुन्दा त निकै भावुक बनाउँछ ।” 

यादवका अनुसार चोहर्वाका केही युवाले तीन हप्तादेखि बेलाबेला पानी वितरण गरिरहेका छन् तर आर्थिक अभावका कारण सधैँ यसरी वितरण गर्ने अवस्था छैन । “जनप्रतिनिधिले गर्नुपर्ने काम हामीले गरिरहनुपरेको छ । यस विषयमा जनप्रतिनिधिसँग कुरा नगरेका पनि होइनौँ तर उहाँहरुले समस्या समाधानका लागि चासाे राख्नुभएको छैन । उहाँहरुले चाहेमा हामीले गरेजस्तै पानी वितरण गर्न सकिन्छ नि !”, यादवले गुनासो गर्नुभयो । स्थानीय बुद्ध लामाले आफूहरुलाई चुरेवासीले बर्सेनि भोगिरहेका समस्याबारे चुनाव र त्यसपछि बारम्बार जानकारी गराउँदा पनि बेवास्ता भइरहेको बताउनुभयो ।

“पानीको समस्या समाधान होला, खानेपानी आयोजना बनाउँलान् भनेर गाउँलेवासीले सल्लाह गरेरै भोट हाल्छौँ । यस पटकको स्थानीय चुनावमा पनि त्यही गर्यौ तर चुनाव जितेको झण्डै दुई वर्ष बितिसक्दा पनि हाम्रो समस्या समाधान भएन । हिउँदयाममा अघाउञ्जेल पानी खान नपाउने अवस्था कायमै छ” लामाले भन्नुभयो । उहाँले गत हप्ता वडा, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा खानेपानीको अभावबारे जानकारी दिँदै अस्थायी व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले अगाडि थप्नुभयो, “वडा र नगरमा जाँदा बोरिङ आउँदैछ भन्छन् तर कहिले आउने हो टुङ्गो छैन । हामी निमुखाको आवाज कसले सुन्छ र हजुर !” 

अँधेरीगाउँको समस्या समाधानका लागि नगरपालिकाले ‘डिपबोरिङ’ गाड्ने भन्ने थालेको पनि धेरै भइसकेको छ । स्थानीयले चालु आर्थिक वर्षमा पनि त्यस्तो योजना रहेको सुनिरहेका छन् तर हालसम्म पनि कार्यान्वयनको सुरसार छैन । वडा अध्यक्ष दिनेशकुमार मण्डल र नगरपालिकाको नेतृत्व यहाँको समस्याबारे बेखबर छैन । वडाध्यक्ष मण्डलले स्थानीयको समस्याबारे आफू जानकार रहेको र समस्या समाधानका लागि पहल गरिरहेको बताउनुहुन्छ । 

“योभन्दा पहिले त्यस गाउँको बिचमा पर्ने गरी एउटा हाते बोरिङ लागाउन खोजेकै हो तर स्थानीयबिचको विवादले सम्भव भएन”,अध्यक्ष मण्डलले भन्नुभयो, “ठूला योजना वडाको स्रोत साधनले कार्यान्वयन गर्न सकिँदैन । यस वर्ष नगरबाट हाम्रो वडाका लागि तीन वटा डीपबोरिङ् दिने कुरा छ, त्यसमध्ये पहिलो प्राथमिकतामा अँधेरीगाउँ नै छ ।” उहाँले नजिकै रहेका रामपुरा, सुन्दरपुर र ननुवाको बिचभागमा अवस्थित कमलदहमा पानीको सतह घटेर आसपासका बस्तीमा पानीको समस्या देखिएको र अब एकीकृत रुपमा समस्या समाधानको पहल गर्नुपर्ने बताउनुभयो । 

नगरप्रमुख श्रवणकुमार यादवले केही दिनदेखि पानी वितरण भइरहे पनि दीर्घकालीनरुपमा समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । उहाँले वैकल्पिक व्यवस्था नहुँदासम्म आफ्नो नगर क्षेत्रका जनतालाई पानी ओसारेर वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नगरपालिकाले ७० लाखको लागतमा तीन वटा डिपबोरिङ योजना यसै आवमा सम्पन्न गर्ने लक्ष्य राखेको छ, त्यसका लागि प्राविधिक अध्ययन गरिरहेका छौँ”, नगरप्रमुख यादवले भन्नुभयो,“ अँधेरीलगायत पानीको चरम अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाउने छौँ ।”

पानीका सतह गहिरिँदै जाँदा ठूला डिपबोरिङ् पनि असफल भइरहेकाले त्यसको विकल्पका बारेमा योजना बनाउनुपर्ने जानकारहरु बताउँछन् । नगरप्रमुख यादव भने ठूला योजना सञ्चालन गर्न नगरको आर्थिक स्रोतले नभ्याउने भएकाले सङ्घीय सरकारले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । “डिपबोरिङ पनि खानेपानी समस्या समाधानको दीर्घकालीन उपाय होइन भन्ने कुरा अन्य ठाउँका अभ्यासले देखाइसकेको छ । त्यसैले चुरे संरक्षणका साथै यहाँका नदीनालामा ड्याम लगाएर पानी सञ्चित तथा स्थानीयलाई आपूर्तिका लागि तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयनको विकल्प छैन”, उहाँले अगाडि भन्नुभयो । रासस