• ३ असार २०८१, सोमबार

चन्दा सङ्कलनबाट मलामी विश्राम गृह निर्माण

blog

धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित शवदाह स्थल रातु मुक्तिधाममा चन्दा सङ्कलनबाट निर्माण गरिएको मलामी विश्राम गृह । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, जेठ १४ गते । 
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित शवदाह स्थल रातु मुक्तिधाममा स्थानीयले चन्दा सङ्कलन गरेर मलामी विश्राम गृह निर्माण गरेका छन् । दाहसंस्कारमा सहभागी हुन आउने मलामीको सुविधा हेतु सो मलामी विश्राम गृह निर्माण गरिएको हो ।

रातु मुक्तिधाम समितिका अध्यक्ष ध्रुवप्रसाद गजुरेलले स्थानीयबाट सङ्कलन गरिएको करिब सात लाख रुपियाँको लागत विश्राम गृह निर्माण गरिएको बताउनुभयो । विश्राम गृहमा करिब एक सय जनालाई बस्न फलामको कुर्सी, पानी, बिजुली र वाइफाईको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही विश्राम गृह नजिक चन्दा सङ्कलनबाटै तीन लाख रुपियाँको लागत दाउरा भण्डारण गृहसमेत निर्माण गरिएको छ । यस कामका लागि कुनै निकायबाट आर्थिक स्रोत उपलब्ध नभएपछि स्थानीयबाट चन्दा सङ्कलन गरिएको अध्यक्ष गजुरेलको भनाइ छ ।

यही कामका लागि गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारले २० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । सो बजेट परिचालन गर्न कमिसन दिन नसकेपछि बजेट फर्केर गयो । मिथिला नगरपालिकाको कार्यालयसँग पनि पटक-पटक सहयोग माग गर्‍यौ । कहीँ कतैबाट सहयोग प्राप्त नभएपछि चन्दा सङ्कलन गरेर मलामी गृह र दाउरा भण्डार निर्माण गरेका छौँ, उहाँले भन्नुभयो ।

मुक्तिधाम क्षेत्रमा व्यवस्थित शव जलाउने आर्यघाट निर्माण गर्ने समितिको योजना रहेको बताउँदै उहाँले यस ठाउँमालाई रमणीयस्थलको रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । अध्यक्ष गजुरेलले सोही ठाउँ नजिक ज्येष्ठ नागरिक र सेवा निवृत्त कर्मचारी समाजको सात लाख रुपियाँ आर्थिक सहयोगमा ज्येष्ठ नागरिक चौतारो निर्माण गरिहरेको बताउनुभयो ।