• ३ असार २०८१, सोमबार

सवारीसाधन कर बाँडफाँटबाट स्थानीय तहलाई पाँच अर्ब

blog

मकवानपुर समाचारदाता

हेटौँडा, जेठ १४ गते  । बागमती प्रदेशका स्थानीय तहहरूलाई सवारीसाधन कर बाँडफाँटबाट पाँच अर्ब रुपियाँ हस्तान्तरण हुने भएको छ । 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भएको व्यवस्था र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त सिफारिसका आधारमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशभित्रका ११९ स्थानीय तहलाई सवारीसाधन कर बाँडफाँटको अनुमानित स्रोतको विवरण अनुसार पाँच अर्ब रुपियाँ हस्तान्तरण हुने बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश सरकारबाट सङ्कलन हुने सवारीसाधनको ४० प्रतिशत हिस्सा ११९ स्थानीय तहलाई सवारीसाधन कर बाँडफाँटको अनुमानित स्रोतको विवरण मन्त्रीस्तरीय निर्णय अनुसारको विवरण पालिकालाई पठाइएको छ । 

स्थानीय तहलाई सवारीसाधन कर बाँडफाँटको अनुमानित स्रोतको विवरण अनुसार सबैभन्दा कम नुवाकोटको सूर्यगढी गाउँपालिकालाई एक करोड पाँच लाख दुई हजार रुपियाँ हस्तान्तरण हुने छ । सबैभन्दा बढी काठमाडौँ महानगरपालिकालाई ३९ करोड ८४ लाख ३७ हजार पाँच सय र भरतपुर महानगरपालिकालाई २५ करोड ७५ लाख ६७ हजार सात सय रुपियाँ वार्षिक सवारीसाधन कर बाँडफाँटबाट हस्तान्तरण हुने मन्त्रालयको अभिलेखमा छ ।