ठाकुरप्रसाद आचार्य 
म्याग्दी, जेठ १४ गते । जलजलाको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका -७ मा लुङ्दीखोला भेडाबारी दुलेपानी सिँचाइ योजना सम्पन्न भएको छ । सिँचाइ योजना सम्पन्न भएसँगै भेडावारी, दुलेपानी र लामाबगरका किसानहरू खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् । सिँचाइ नहुँदा बाँझै भएको जमिन अहिले हराभरा भएको छ ।
पाँच वर्ष अघि मिलनचोक–सल्यान, घायखेत–धारापानी–ठोटनेरी सडक विस्तारका क्रममा पहिरोले सिँचाइ कुलोमा क्षति पुगेपछि यस क्षेत्रका किसानहरूले आकाशे पानीका भरमा खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्र रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा समेत कमी आएको थियो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको योजना जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले ठेक्कामार्फत कार्यान्वयन गरेको हो ।
१९ महिना भित्रमा निर्माण सम्पन्न गर्न कार्यालयले सनफोर्स सोलार एण्ड कन्स्ट्रक्सन बालाजु काठमाण्डौं सँग २०८० भदौ १५ गते ९२ लाख ७७ हजार नौ सय ३५ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएको आठ महिनामै काम सम्पन्न भएर सिँचाइ योजनामा पानी सञ्चालन गरिएको उपभोक्ता समितिका अध्यक्ष चक्रपाणि पौडेलले जानकारी दिनुभयो ।
भेडावारीदेखि एक हजार आठ सय मिटर टाढा रहेको ढल्केको टाकुरा नजिक रहेको लुङ्दीखोलाबाट २२५ एमएमको एचडीपी पाइपलाइनमार्फत पानी ल्याइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार मुहानमा इन्टेक, दुई स्थानमा क्रसिङ पुल र ४ वटा वितरण च्याम्बर निर्माण गरिएको छ ।
योजनामा कुलोको मुहानदेखि भेडाबारी सम्म १८ सय मिटर दूरीको पाइपलाइन जडान गरिएको उहाँले जानकारी दिनुभयो । कमजोर भूभागका कारण नहर बनाउन असम्भव भएकाले पाइपलाइन जडान गर्दा सिँचाइ योजना दिगो हुने आशा गरिएको इन्जिनियर तिमिल्सिनाले बताउनुभयो । योजनामा पानी सञ्चालनमा आए पनि केही कामहरू बाँकी रहेको र बजेटको अभावमा निर्माण व्यवसायीलाई करिब ७० लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
विगत पाँच वर्षदेखि यस क्षेत्रका किसानहरू सिँचाइ सुविधाबाट वञ्चित थियौँ उपभोक्ता समितिका अध्यक्ष पौडेलले भन्नुभयो, ‘‘सिँचाइ सुविधा नहुँदा कतिपय किसानहरूको खेत बाँझै थियो । सिँचाइ नहर पहिरोले क्षतविक्षत अवस्थामा थियो । वैशाखमा सिँचाइ योजना सम्पन्न भएसँगै पानी सञ्चालनमा आएपछि किसानहरूले खेतबारीमा सिँचाइ गरेर खेती गर्न थालेका छन् ।’’ वैशाख र जेठको खडेरीमा पनि पानी ल्याएर खेतबारीमा सिँचाइ गरेकाले खेतबारी हराभरा भएको उहाँको भनाई छ ।
निर्माण व्यवसायीको सक्रियता, उपभोक्ताको जागरूकता र कार्यालयका तर्फबाट नियमित रूपमा सुपरिवेक्षण भएकाले काम थालेको ६ महिनामै पानी सञ्चालन गर्न सफल भएको उपभोक्ता समितिका अध्यक्ष पौडेलले बताउनुभयो ।
सिँचाई योजनाबाट यस क्षेत्रका करिब एक सय घरधुरी कृषकको करिब आठ सयदेखि एक हजार रोपनीसम्म जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
“कमजोर भूगोल भएकाले पहिरोले कुलो बगाउने, मुहानबाट हालेको पानी खेतबारीमा पुर्याउन निकै कठिन थियो’’, उहाँले भन्नुभयो, ‘‘मुहान देखि नै भेडाबारीसम्म पाइपलाइन भएकाले मुहानबाट हालेको पानी सबै खेतबारीमा पुग्न थालेपछि किसानलाई सहज भएको छ ।’’
सिँचाइ सुविधा नहुँदा तीन वर्षसम्म खेत बाँझै राख्नुभएका भेडाबारीका स्थानीयवासी लक्ष्मीप्रसाद आचार्यले यसपालि भने असारमै खेत रोप्ने तयारी गर्नुभएको छ । योजना सम्पन्न भएपछि स्थानीय कृषकहरूलाई धान रोपाइँ गर्न आकाशे पानी कुर्नुपर्ने बाध्यता अन्त्य भएको आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘सिँचाइ नहुँदा मैले तिन वर्ष जति केही खेत बाँझै राखे,केहीमा कोदो खेती गरेँ । अहिले कुलोमा पानी आएकाले बाँझो रहेको खेतमा असारको दोस्रो हप्ताभित्र धान रोप्ने गरी तयारी गरेको छु ।’’
बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि यस क्षेत्रमा ताजा तरकारी उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको जलजला ७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                