• ३ असार २०८१, सोमबार

राजस्व तिर्न मान्दैनन् हुम्लावासी

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ १३ गते । चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै सामान ल्याउने व्यापारीले भन्सारलाई राजस्व तिर्न नमान्ने गरेको पाइएको छ । ताक्लाकोटबाट गाडीमा आएको सामान भन्सारका कर्मचारीले राजस्वका लागि रसिद काट्न खोज्दा व्यापारी तथा अन्य हुम्लावासीले घरयसी प्रयोजनाका लागि ल्याएको सामान भनेर पन्छिन खोजेपछि राजस्व असुलीमा समस्या देखिएको हो । 

यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले तीन बोराभन्दा कम सामान ल्याउने जोकोही राजस्व तिर्न नमानेको बताउँदै यसबाट राज्यलाई घाटा भइरहेको बताउनुभयो । उहाँले यसरी आउने सामान आफूले राजस्व तिर्नका लागि समात्ने गरेको भए पनि ताक्लाकोटबाट ल्याउने हुम्लावासीले घरायसी प्रयोगका लागि भनेर पन्छिने गरेका छन् तर जनशक्तिको अभावका कारण केही गर्न नसकिएको बताउनुभयो । 

ताक्लाकोटबाट ल्याएको सबै सामानको राजस्व असुली भयो भने हालको भन्दा १० गुणा बढी असुली हुने उहाँले बताउनुभयो । यारी नाका भन्सार कार्यालयले हालसम्म एघार लाख ५५ हजार ३९० रुपियाँ राजस्व असुली गरेको छ । यो कुरामा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टले पनि राजस्व तिर्न लगाउन समस्या रहेको बताउनुभयो । 

आफूहरूले थाहा पाएको समय गएर सहयोग गर्ने तर सबै समयमा आफूलाई जानकारी नहुने भएका कारण धेरै सामान राजस्व असुलीबिनै जाने उहाँले बताउनुभयो । हिल्साका स्थानीयलाई करदाता शिक्षा र कानुनी कारबाहीका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो । अलि धेरै र विकास निर्माणका सामान ल्याउने व्यापारी तथा निर्माण व्यवसायीले मात्र भन्सार तिर्दै आएका छन् ।