• ३ असार २०८१, सोमबार

पोसाक संरक्षणमा महिला

blog

परम्परागत पोसाकमा सजिएर देउडा गाउँदै महिला । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, जेठ १३ गते  । कला र सांस्कृतिक संरक्षणका लागि महिलाले परम्परागत पोसाक लगाउनै पर्ने निर्णय गरेका छन् । सिमकोट गाउँपालिका–६ की गुहेला रावतले महिलाले धार्मिक तथा सांस्कृतिक कार्यक्रम अनिवार्य रूपमा परम्परागत पोसाक लगाउनुपर्ने भएको बताउनुभयो । आफूखुसी पोसाक लगाउँदा संस्कृति नै हराउने देखिएपछि स्वस्फुर्त रूपमा परम्परागत पोसाक लगाउनै पर्ने बाध्यता बनाइएको उहाँको भनाइ छ । 

महिलाले गाउन, चोलो, चाँदीको सिक्काको माला, कम्मरमा स्थानीय पटुका र रातो काम्लो (सर) ओढ्नै पर्ने हुन्छ । पोसाक नलगाएका महिलाले गाउँमा सञ्चालन हुने कार्यक्रममा दर्शक हुन पाइने तर सहभागिता जनाउन पाइने छैन । 

गाउँपालिकाकी जानकी रोकायाले यसबाट आफ्नो संस्कार र संस्कृति जोगाउन सहज हुने बताउनुभयो । उहाँले पछिल्लो समय महिला आफैँ परम्परागत पोसाकको व्यवस्थामा लागिरहेको बेला चाडपर्व वा कार्यक्रममा सहभागिता जनाउने महिलाले अनिवार्य सो पोसाक लगाउनै पर्ने बाध्यकारी स्वनिर्णयले गर्दा सकारात्मक सन्देश जाने बताउनुभयो । महिलाले यसअघि आफ्नो इच्छाबमोजिम यस्ता परम्परागत पोसाकको व्यवस्था गर्दै आएको तर अब  अनिवार्य रूपमा यस्तो पोसाकको व्यवस्था गर्नुपर्ने छ । अघिल्लो पुस्ताका महिलाले यसलाई निरन्तरता दिनुहुने छ भने पछिल्लो पुस्ताका युवतीले भने सिको गर्दै पोसाकको व्यवस्था गर्नुपर्ने छ ।