• ३ असार २०८१, सोमबार

आत्महत्या बढ्दै गएकोमा सरोकारवालाको चिन्ता

blog

कार्यशालामा सहभागी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, जेठ १२ गते। समाजमा आत्महत्या बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै त्यसको न्यूनीकरणका लागि पत्रकारसँग सहयोग माग गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजना र नेपाल पत्रकार महासङ्घ बाँके शाखाको सहकार्यमा नेपालगन्जमा आयोजित आत्महत्या रिपोर्टिङसम्बन्धी एकदिने कार्यशालामा चिन्ता व्यक्त गरिएको हो।

कार्यशालाका सहभागीले पछिल्लो समयमा आत्महत्याको ग्राफ बढ्दै गएकाले न्यूनीकरणमा पत्रकारको भूमिका अहम रहने हुँदा सहयोगका लागि आग्रह गरेका थिए। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका डा. भक्तबहादुर केसीले मानसिक रोग जनस्वास्थ्य समस्याका रुपमा देखा परेको र यही समस्याको कारणले आत्महत्याका घटना बढी हुने गरेको जनाउँदै मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताउनुभयो।

उहाँले आत्महत्या र आत्महत्या रोकथामका बारेमा गलत धारणा नबढाइ जनचेतना जगाउन जरुरी रहेको पनि बताउनुभयो ।

भेरी अस्पताल नेपालगन्जमा कार्यरत मानसिक रोग विशेषज्ञ डा.लीला देवकोटाले गम्भीर मनोरोग तथा मनमा उत्पन्न समस्यालाई व्यवस्थापन गर्न नसक्दा मानिसले आत्महत्याको बाटो रोज्ने गरेको भन्दै यो दर घटाउन मानसिक रोगबारे जनचेतना फैलाई समयमै उपचार गरेर मानसिक स्वास्थ्य राम्रो बनाउन जरुरी रहेको बताउनुभयो।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले मानसिक स्वास्थ्य सम्बन्धी सेवा विस्तार गरेर रोगीको समयमै पहिचान गर्न सके आत्महत्याका घटानामा कमी आउने बताउनुभयो।

उहाँले समयमै पहिचान गर्नसके उपचार र परामर्श प्रदान गर्न सकिने र त्यसले आत्महत्याको बाटोमा पुग्न नदिने कुरामा जोड दिनुभयो।

भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिनेश चौधरीले आत्महत्या न्यूनीकरणमा चिकित्सकको जत्तिकै सञ्चारकर्मीको समेत भूमिका रहने भएकाले सकारात्मक सन्देश र आत्महत्या निरुत्साहित गर्ने सामग्री प्रकाशन र प्रशारण गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बाँकेमा आत्महत्याका घटानाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।