• ३ असार २०८१, सोमबार

भारतमा लोकसभा चुनावको छैटौँ चरणमा मतदान हुँदै

blog

नयाँदिल्ली, जेठ १२ गते । जारी लोकसभा चुनावको छैटौँ चरणको मतदान शनिबार बिहान छ वटा राज्य र दुई केन्द्र शासित प्रदेश (युटी)मा फैलिएको ५८ संसदीय निर्वाचन क्षेत्रमा भइरहेको छ । बिहान ७ बजे सुरु भएको मतदान  साँझ छ बजेसम्म जारी रहनेछ ।

बिहान मतदान सुरु हुनुअघि ओडिसामा लोकसभा र विधानसभा चुनावका लागि विभिन्न क्षेत्रमा नमुना मतदान गरिएको थियो । छैटौँ चरणको मतदानमा बिहारका आठ, हरियाणाका सबै, जम्मु–कश्मीरको एक, झारखण्डका चार, दिल्लीका सात, ओडिसाका छ, उत्तर प्रदेशका १४ र पश्चिम बङ्गाालका आठ सिटका लागि मतदान भइरहेको छ । जसमा कुल आठ सय ८९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

छैटौँ चरणमा ओडिसाका ४२ वटा विधानसभा निर्वाचन क्षेत्रमा पनि मतदान हुँदैछ । जहाँ लोकसभा चुनावसँगै विधानसभा चुनाव भइरहेको छ । यस चरणमा दिल्ली र हरियाणाका सबै संसदीय सिटमा मतदान हुनेछ । प्रमुख उम्मेदवारमा दुई पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टर र मेहबुबा मुफ्ती रहेका छन् । करनालबाट भाजपाका उम्मेदवारका रूपमा खट्टर र अनन्तनाग–राजौरीबाट पिडिपी उम्मेद्वार मेहबुबा मुफ्ती चुनाव लड्दैछन् ।

केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान, भाजपाका प्रवक्ता सम्बित पात्रा र पूर्वकेन्द्रीय मन्त्री मेनका गान्धी प्रमुख उम्मेदवार छन् । अन्य प्रमुख उम्मेदवारमा बांसुरी स्वराज, सोमनाथ भारती, मनोज तिवारी, कन्हैया कुमार, दिनेशलाल यादव उर्फ ‘निरहुआ’, धर्मेन्द्र यादव, अभिजीत गङ्गोपाध्याय, अग्निमित्रा पल, नवीन जिन्दल, राज बब्बर, दीपेन्दर सिंह हुडा, कुमारी शैलजा र अपराजित सारङ्गिया रहेका छन् ।

केही प्रमुख सिटमा नयाँ दिल्ली, उत्तर–पूर्वीदिल्ली, उत्तर–पश्चिम दिल्ली र राजधानीको चाँदनी चोक र उत्तर प्रदेशको सुल्तानपुर र आजमगढ समावेश छन् । प्रमुख सिटकैरुपमा जम्मु–कश्मीरको अनन्तनाग–राजौरी, पश्चिम बङ्गालको तामलुक, मेदिनीपुर, हरियाणाको कर्नाल, कुरुक्षेत्र, गुडगाँव, रोहतक र ओडिसाको भुवनेश्वर, पुरी र सम्बलपुरलगायत छन् ।

पछिल्लो दुई चुनावमा राजधानीका सातवटै लोकसभा सिट जितेको भाजपासँग दिल्लीमा आप र कांग्रेसले संयुक्तरूपमा प्रतिस्पर्धा गरिरहेका छन् । राजधानीमा कांग्रेसले तीनवटा सिटमा लडेको छ भने एएपीले चारवटा सिटमा लडेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र पार्टीका अन्य नेताको र्‍यालीले भाजपाको अभियानलाई बलियो बनाएको छ । सर्वोच्च अदालतद्वारा अन्तरिम जमानतमा रिहा भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि आप र कांगे्रस उम्मेद्वारका लागि मत मागेका छन् ।

आम आदमी पार्टी र कांग्रेसले हरियाणामा पनि हातेमालो गरेका छन् । जहाँ सन् २०१९ को लोकसभा चुनावमा भाजपाले सबै सिट जितेको थियो । हिसार सहित राज्यका केही सिटमा बहुआयामिक प्रतिस्पर्धा भइरहेको छ । यस राज्यमा लोकसभा चुनावको केही महिनापछि विधानसभा चुनाव हुनेछ ।

ओडिसाका सम्बलपुर, भुवनेश्वर र पुरीमा पनि केही सौदावाजीको सामना गरिरहेको छ । जहाँ तातो मौसम तथा वर्षाको प्रतिकूल प्रभाव व्यवस्थापन गर्न पर्याप्त उपाय अपनाउन सम्बन्धित सीइओ र राज्य अधिकारीलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्रमा पर्याप्त छायाँ, पिउने पानी,  शौचालय र अन्य आधारभूत सुविधा हुनेछन् ताकि मतदान सहज र सुरक्षित वातावरणमा सम्पन्न होस् ।

निर्वाचन आयोगले मतदातालाई ठूलो सङ्ख्यामा मतदान केन्द्रमा उपस्थित भएर जिम्मेवारी र गर्वका साथ मतदान गर्न अपिल गरेको छ ।

आम चुनावको पहिलो पाँच चरणमा २५ राज्य र केन्द्र शासित प्रदेशका चार सय २८ संसदीय निर्वाचन क्षेत्रमा मतदान भइसकेको छ । जहाँ ११.१३ करोडभन्दा बढी मतदातामध्ये ५.८४ करोड पुरुष, ५.२९ करोड महिला पाँच हजार एक सय २० तेस्रो लिङ्गका मतदाता छन् । निर्वाचन  सञ्चालन गर्न करिब ११.४ लाख मतदान अधिकारी सङ्लग्न हुनेछन् ।

जहाँ ८५ वर्षभन्दा माथिका ८.९३ लाख दर्ता भएका मतदाता, १०० वर्षभन्दा माथिका  २३ हजार ६५९ मतदातालाई लोकसभा चुनावको अन्तिम चरणमा आफ्नो घरबाट मतदान गर्ने विकल्प प्रदान गरिएको छ । जम्मू–कश्मीरको अनन्तनाग–राजौरी लोकसभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुनेछ । निर्वाचन समितिले मतदानको मिति परिवर्तन गर्न निवेदन प्राप्त गरेपछि मतदानको मिति मे–७ बाट २५ सम्म संशोधन गरेको थियो ।

सातौँ चरणको मतदानपछि जुन–१ मा लोकसभा सम्पन्न हुनेछ जसमा ५७ निर्वाचन क्षेत्रका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनको परिणाम भने जुन–४ मा घोषणा गर्ने जनाइएको छ । रासस/एएनआई