तुलसीपुर समाचारदाता
तुलसीपुर, वैशाख ५ गते । तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक चैते धानको उत्पादन परीक्षण सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१७, वनकट्टीमा पाँच बिघा क्षेत्रफलमा चैते धान रोपिएको छ । जिल्लाको बङ्गलाचुली गाउँपालिकामा चैते धानको खेती हुँदै आएको छ भने तुलसीपुरमा यस वर्षदेखि सुरु गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख कुलराज चौधरीका अनुसार बिजौरी साना किसान सहकारी संस्थाको समन्वयमा धान रोपिएको हो । चौधरीले वर्षायामभन्दा गर्मीयाममा धान रोप्दा रोगकिराको प्रकोप कम हुने र छोटो समयमा उत्पादन लिन सकिने बताउनुभयो । कृषि शाखा प्रमुख चौधरीले वर्षायाममा प्रतिहेक्टर ३.४ टन धान उत्पादन हुने खेतमा चैते धान लगाउँदा प्रतिहेक्टर ४.३ टन धान उत्पादन हुने बताउनुभयो ।
संस्थाका अध्यक्ष चित्रा धितालले चैते धान खेती गर्ने किसानका लागि सहकारीका तर्फबाट समन्वय र यान्त्रिकीकरणका लागि सहजीकरणसमेत गरिएको बताउनुभयो । उहाँले बाह्रै महिना सिँचाइ हुने खेतीयोग्य जमिन बाँझो रहेकाले सहकारी संस्थाका सदस्यलाई उत्प्रेरित गरेर चैते धानको खेती सुरुवात गरिएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले पालिकाले चैते धान खेती गर्ने किसानका लागि सिँचाइ सुविधा र जोत्ने, काट्न र दाउनका लागि यान्त्रिकीकरणमा समेत सहयोग गर्ने बताउनुभयो । उहाँले परीक्षण उत्पादन सफल भएपछि आगामी वर्षदेखि व्यावसायिक रूपमै चैते धानको खेती सुरुवात गर्ने बताउनुभयो । कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले पहिले चैते धान हुने ठाउँमा सिँचाइको समस्या हुन थालेपछि ती क्षेत्रमा मकै खेती सुरुवात भइरहेको बताउनुभयो । जिल्लामा यस वर्ष करिब १५० बिघा क्षेत्रफलमा चैते धानको खेती गरिएको छ ।