• ३ असार २०८१, सोमबार

इच्छापत्र (कविता)

blog

म मरेपछि

मेरो लासमा

पार्टीको झन्डा नओढाउनू

नेपालको झन्डा ओढाइदिनू

कवि भूपि शेरचनको फोटो राखिदिनू

र उनलाई साक्षी मानेर 

मेरो एउटा कविता पढिदिनू ।


म मरेपछि

मेरो लासनजिक

नेताहरूलाई आउन नदिनू

टाढै राख्नू

उनीहरूलाई मेरो लास छुन नदिनू

र उनीहरूलाई मेरोबारेमा बोल्न नदिनू ।


म मरेपछि

मेरी जीवनसङ्गिनीलाई 

मैले जीवनमा उनलाई धेरै दुःख दिएको छु

मेरो छातीमा हात राखेर

मलाई क्षमा गरिदिनू रे भनिदिनू

अनि छोराछोरीहरूलाई पनि

मैले उनीहरूको 

आफूले सोचेको जति भविष्य बनाइदिन सकिनँ रे

बुवालाई कहिल्यै पनि गाली नगर्नू रे भनिदिनू ।