• ३ असार २०८१, सोमबार

नहर भत्काएर सडक जमिन बाँझै

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ १२ गते ।  रुकुमपश्चिम सिँंचाइ नहर भत्काएर सडक बनाउन थालिएको छ । जिल्लाको मुसीकोट नगरपालिका–१ र २ मा रहेको घट्टखोला  खालीगैरा सिँचाइ आयोजनाको नहर भत्काएर सडक बनाउन थालिएको हो । आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको उक्त आयोजनाको काम पूरा नहुँदै भत्काउन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले नहरको ९५ प्रतिशत काम सकिएको बेला भत्काएर सडक बनाउन थालिएको जानकारी दिनुभयो । नहर भत्काएर सडक बनाउँदा वडा नं २ को क्षेत्रमा रहेको करिब ३० हेक्टर खेतियोग्य जमिन बाँझै हुने उहाँको भनाइ छ । क्रमागत योजना अन्तर्गतको उक्त नहर बनाउन हालसम्म ६५ लाख रकम खर्च भइसकेको छ । 

२०३२ सालदेखि कुलो बनाएर यहाँ सिँचाइको सुविधा हुँदै आएको छ । स्थानीय किसान दिवसा ओली खड्काले बल्लतल्ल बनेको नहर अब सडक हुने दुर्दशा भएको बताउनुभयो । नहर नरहेपछि खेतीयोग्य जमिन बाँझै रहने पीर उहाँलाई छ । नहर नभत्काइदिन स्थानीय सरकारसमक्ष किसान गएर माग गर्दा पनि कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । नहरबाट सिँचाइ भएपछि यहाँ गहुँ, धान, मकै, तरकारी खेती हुँदै आएको छ । भर्खरै बनेको नगर भत्काएर फेरि सडकको नाममा ठुलो धनराशि खर्च हुने र किसानलाई मर्का पर्ने काम नगर्न स्थानीयले माग राखेका छन् । 

दुईतिरबाट सडक बनाउन सुरु

एक हजार आठ सय मिटर लामो नहरको करिब छ सय मिटर भाग सडकमा परेको छ । ‘पातुखोला–घट्टखोला–खालीगैरा वडा नं २ ‘पशुपति मावि’ नामको उक्त सडकमा दुई विकासे कार्यालयको लगानी रहेको छ । नहरको खोलाको मुहान क्षेत्रमा सङ्घीय आयोजना कार्यान्वय एकाइ सुर्खेत र गाउँतर्फको भागबाट पूर्वाधार विकास कार्यालय चौरजहारीबाट ठेक्का सम्झौता गरेर काम सुरु भएको छ । सङ्घीय कार्यालयसँग ४२ लाख र पूर्वाधार विकास कार्यालयसँग २३ लाखमा ठेक्का सम्झौता गरेर निर्माण व्यवसायीले डोजर लगाएका छन् । 

कृषि क्षेत्रमा अन्याय   

उक्त सडक निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा टेन्डर आह्वान भएको थियो । २०८० माघ ३ गते दुवै कार्यालयलाई कृषि विकास कार्यालयले नहर क्षेत्रमा असर नगर्न तथा सिँचाइ अवरुद्ध नगर्न पत्राचार गरेको थियो तर दुवै कार्यालयले एक पटक पनि समन्वय नगरेर बलमिचाइँपूर्वक नहर भत्काएको कृषि विकास कार्यालयको भनाइ छ । सिँचाइ नहर भत्काएर सडक बनाउनु कृषि क्षेत्रमाथि अन्याय गरिएको कार्यालयको बुझाइ रहेको छ । हालै पनि सरोकारवाला कार्यालयलाई नहरमा क्षति पुग्ने काम भएकाले समन्वय गरिदिन अनुरोध गरिएको छ ।