• २ असार २०८१, आइतबार

सवारीसाधन कारबाहीमा

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ ११ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४, शीतपोखरी क्षेत्रमा सञ्चालन भएका सवारीसाधन जाँच गर्दा अधिकांश सवारीसाधनमा कमी कमजोरी भेटिएका छन् । 

यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय र ट्राफिक कार्यालयले गरेको छड्के जाँचका क्रममा कमजोरी भेटिएका बस तथा मिनीबसलाई कारबाही गरिएको छ । 

यात्रुवाहक सवारीसाधनमा कैफियत भेटिएपछि कारबाही गरिएको हो । जाँचको क्रममा भेटिएका सबै बस र अन्य सवारीसाधनसमेत गरेर १८ वटा सवारीसाधनलाई कारबाही गरिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रशासकीय अधिकृत देवबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार मध्यपहाडी राजमार्ग र राप्ती राजमार्गको सङ्गमस्थलमा आकस्मिक रूपमा सवारी जाँच गरिएको थियो । त्यस क्रममा १० वटा बस तथा मिनीबस भेटिएको र जाँचको क्रममा १० वटै कारबाहीमा परेको उहाँले बताउनुभयो । 

यात्रुवाहक बसहरूमा यान्त्रिक परीक्षण ठिक नभएको, अनुमतिबिनै छत तथा सबटप जडान गरेको समस्या देखिएपछि कारबाही गरेको चन्दले जानकारी दिनुभयो । अन्यलाई लाइसेन्स साथमा नभएको, कागजात नवीकरण नभएका कारण कारबाही गरिएको प्रशासकीय अधिकृत चन्दले बताउनुभयो । रुकुमपश्चिमको जिल्ला सदरमुकाम मुसीकोट, रुकुमपूर्वको रुकुमकोटबाट सल्यान हुँदै दाङ, नेपालगञ्जतर्फ जाने र आउने सवारीसाधनको जाँच गरिएको हो । 

छड्के जाँचको क्रममा ८१ वटा विभिन्न सवारीसाधनको जाँच गरिएको र त्यसमध्ये १८ वटा सवारीसाधन कारबाहीमा परेका हुन् । १० वटा बस तथा मिनीबस, छ वटा जिप तथा कार, दुई वटा ट्याक्टर, सात वटा अटो, एक वटा टिप्पर र ५५ वटा मोटरसाइकल जाँच गरिएको हो । 

प्रशासकीय अधिकृत चन्दले कारबाही परेका सवारीसाधनबाट जरिबाना गर्दा १९ हजार पाँच सय रुपियाँ राजस्व असुल भएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले राजमार्गमा चल्ने सवारीसाधनले लापर्बाही गरेको पाइएको बताउनुभयो । 

सयौँ सर्वसाधारण ओसारपसार गर्ने यातायातका साधन जथाभाबी चलाउँदा दुघर्टनाको जोखिम हुने भएकाले दुरुस्त अवस्था र नियमानुसार मात्र चलाउन सन्देश दिन छड्के जाँच गरिएको हो । यस कार्यले सवारीधनी, चालक र यात्रु सबैलाई फाइदा हुने सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । आगामी दिनमा पनि छड्के जाँच निरन्तर हुने उहाँले बताउनुभयो ।