• २ असार २०८१, आइतबार

पूर्वाधार सुधारमा जोड

blog

पर्सा समाचारदाता 

पर्सा, जेठ ११ गते । नेपाल र भारतका उच्च अधिकारी तथा उद्योगी व्यापारीले नेपाल र भारतको सम्बन्ध स्थापना भएदेखि चलिआएको व्यापारमा समयानुकूल परिवर्तन र आवश्यकता अनुसार व्यापार सहजीकरणका लागि पूर्वाधार सुधारमा आमूल परिवर्तन र झन्झटिलो प्रक्रिया सुधार गरी नयाँ ढङ्गबाट अगाडि बढ्न दुवै मुलुकको सहकार्य तथा लचकता हुनुपर्ने बताएका छन् । 

उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशको संयुक्त आयोजना तथा नेपाल च्याम्बरको सहकार्यमा वीरगन्जमा बिहीबार आयोजना भएको नेपाल–भारत मल्टिमोडेल लजिस्टिक एन्ड कनेक्टिभिटी बैठकलाई सम्बोधन गर्दै लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले नेपाल–भारतको व्यापार सहजीकरण तथा पूर्वाधार सुधार, विकास निर्माणका लागि सरकारले धेरै महत्वपूर्ण कार्य गरिरहेकाले केही समयमै व्यापारी तथा उद्योगीले त्यसको प्रत्याभूति गर्ने बताउनुभयो । 

उहाँले रूपान्तरणको प्रक्रियामा रहेका जलविद्युत् आयोजनालगायतका क्षेत्रमा परिणाम आउने गरी काम भइरहेकाले उच्च मनोबलका साथ लगानी गर्न विदेशी तथा स्वदेशी लगानीकर्तासँग आग्रह गर्नुभयो । 

भारतस्थित कोलकाता नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत ईश्वरराज पौडेल र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मिनाले दुई मुलुकको व्यापार सहजीकरण तथा पूर्वाधार विकासमा योजनाबद्ध रूपमा अगाडि बढेमा व्यापार सहजीकरणमा देखिएका धेरै समस्याको निराकरण हुने र व्यापार व्यवसायले गति लिने बताउनुभयो । 

उहाँहरूले हालको व्यापार पोर्ट (बन्दरगाह) मा बढी निर्भर हुने गरेकामा सुक्खा बन्दरगाहको बढी उपयोग गरी रेलमार्गबाट सामान ढुवानी गर्दा ढुवानी कम लाग्ने तथा सामानको सुरक्षाको बढी ग्यारेन्टी गर्न सकिने भएकाले यसका लागि व्यवसायी तथा दुवै मुलुकको सरकारको ध्यान केन्द्रीकृत हुनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा उद्योग वाणिज्य मधेश प्रदेशका अध्यक्ष अशोक टेममानीले नेपालको ७० प्रतिशतभन्दा बढी व्यापार भारतमा निर्भर हुने गरेकाले ढुवानी लागत कम हुने गरी भन्सार प्रक्रिया पारदर्शी तथा झन्झटमुक्त तथा ठुलो परिमाणका सामानका लागि मात्रै नभई साना प्रकृतिका सामानको पनि सहज ढुवानीका लागि सुक्खा बन्दरगाहको अधिकतम प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । पत्रकार चन्द्रकिशोरले दुवै मुलुकको व्यवसायको स्थलगत निरीक्षण र पहिचान गरी मुलुकको अन्य ठाउँमा दूतावास राख्न सल्लाह दिनुभयो ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, नेपाल–भारत उद्योग वाणिज्य सङ्घ वीरगन्ज शाखाका अध्यक्ष अभिशेष चौधरी, यातायात विकास बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेललगायतले व्यापार सहजीकरणका लागि मार्ग स्पष्ट गरी लगानीमैत्री वातावरण बनाउन सबै पक्षसँग आग्रह गर्नुभएको थियो ।