• २ असार २०८१, आइतबार

व्यावसायिक तरकारी खेतीका लागि २६० जना किसानलाई बीउ सहयोग

blog

सहकारी सदस्यहरुलाई बीउ वितरण गरिँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, जेठ १० गते । 
सहकारी संस्थाले २६० जना कृषकलाई तरकारीको बीउ सहयोग गरेको छ । संस्थामा आबद्ध रहँदै आएका कृषकहरूलाई तरकारीको बीउ सहयोग गरिएको हो । कृषकहरूको जीविकोपार्जनमा सुधार ल्याउन र आम्दानीको स्रोत वृद्धि गर्न तरकारीको बीउ सहयोग गरिएको संस्थाले जनाएको छ ।

सिमकोट र खार्पुनाथ गाउँपालिका चार वटा सहकारी संस्थाका २६० जना सदस्यहरूलाई दोस्रो सिजनका लागि आठ प्रकारका तरकारीको बीउ सहयोग गरिएको स्नोल्याण्ड एकीकृत विकास केन्द्रका निर्देशक गोविन्द शाहीले बताउनुभयो ।

सो बीउ एकीकृत सामुदायिक विकास परियोजनाको समन्वयमा किसानलाई सहयोग गरिएको हो । परियोजनाले सहकारी संस्थामा आबद्ध सदस्य कृषकहरूको जीविकोपार्जन सुधार तथा वातावरण मैत्री तवरले तरकारी उत्पादन गरी उत्पादकत्व बढाउनका लागि खार्पुनाथ गाउँपालिकाको दुधकुन्ड महिला विकास बहुउद्देश्यीय सहकारी संस्था (छिप्रा, माजा र नल्ना) का १२६ जना, सिमकोट गाउँपालिकाको पन्चमुखी दुधेदह कृषि सहकारी संस्था (सिमकोट तल्लो र माथिल्लो गाउँ, हिल्दुम र बुराउँसे) का ८४ जना र मस्टदेव कृषि सहकारी संस्था ठेहेका ५० जनालाई प्रदान गरिएको हो ।

दोस्रो सिजनका लागि आवश्यक पर्ने बन्दा, काउली, टमाटर, प्याज, फर्सी, गाँजर, धनियाँ र काक्रा गरी आठ प्रकारका  बीउ  वितरण गरिएको हो । यसका लागि गुडनेवर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकीकृत विकास केन्द्रको प्राविधिक सहयोग रहेको छ । बीउ खरिद तथा ढुवानीका लागि कार्यक्रमबाट एक लाख ८४ हजार ८५० रुपियाँ खर्च गरिएको छ । यसअघि पनि कार्यक्रमले यिनै सहकारीका सदस्यहरूलाई पहिलो सिजनको तरकारीको बीउ सहयोग गरेको थियो ।