• २ असार २०८१, आइतबार

श्रीनगरको सौन्दर्यीकरण गर्ने विषयमा विवाद

blog

निर्माण गरिएको शौचालय तथा पूर्वाधार भत्काइँदै ।

बिन्दु थापा 

पाल्पा जेठ १० गते । श्रीनगरको सौन्दर्यीकरण गर्न तानसेन नगरपालिकाले नपाउने डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिकाले श्रीनगरको सौन्दर्यीकरणका लागि विभिन्न काम गर्दै आए पनि अब काम गर्न नदिने डिभिजन कार्यालय पाल्पाले बताएको हो । 

तानसेन नगरपालिकाले श्रीनगरमा निर्माण गर्न थालेको शौचालय डिभिजन वन कार्यालय पाल्पाले भत्काइदिएको छ । डिभिजन वन कार्यालयको स्वामित्वमा रहेको श्रीनगर वन तानसेन नगरपालिकाले हस्तक्षेप गर्न खोजेको भन्दै भत्काइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले बताउनुभयो । 

उहाँले भन्नुभयो, “श्रीनगर वन डिभिजन वनअन्तर्गत पर्दछ, यसको संरक्षण र विकासका लागि कार्यालयबाट कामहरू गरिदैआएको छ । यसमा तानसेन नगरपालिकाले संरचना बनाउन पाउँदैन, तानसेन नगरपालिकाको हिम्मत भए सरकारसँग स्वामित्व लेओस् ।” 

यता, श्रीनगरमा बन्न थालेको शौचालय भत्काएपछि स्थानीय शिव चापागाईँले सामुदायिक वन उपभोक्ता समिति र डिभिजन वनको लज्जास्पद कामले गिज्याएको बताउनुभयो । 

श्रीनगरमा आउने पर्यटकलाई शौचालयको आवश्यकताको महसुस गरी तानसेन नगरपालिकाले शौचालय निर्माण गर्न थालेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “श्रीनगरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले सौन्दर्यीकरण गर्दै करौडौं रकम खर्चेको छ । 

श्रीनगर नेपालकै पर्यटकीय स्थलमध्ये महत्त्वपूर्ण रमणीय वातावरण भएको स्थल मानिन्छ । जहाँ अनगिन्ती पर्यटक घुम्न, रमाइलो गर्न, सुन्दर वातावरण हरियाली डाँडाकाँडा पाखापखेराले भरिभराउ पाल्पा अहिले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनिरहेको छ । सुन्दर डाँडा श्रीनगरले पनि पर्यटक लोभ्याउने काम गरिरहेको स्थानीयको भनाइ छ । 

व्यस्त रहेकाहरूको तनाव भुलाउने नजिकको गन्तव्य श्रीनगरलाई चिन्ने गरिन्छ । पर्यटकीय विश्रामस्थल बन्दैगरेको तानसेनमा प्राकृतिक दृश्य अवलोकनका लागि पनि घुम्न आउने पर्यटक बढेका छन् । तानसेनको अग्लो ठाउँमा रहेको यो क्षेत्रमा मोर्निङवाक गर्ने र साँझमा शीतल खानेहरूको भिड लाग्छ । 

श्रीनगर वन २००८ देखि रेखदेख र संरक्षण गर्दै आएकोमा २०१६ सालमा तत्कालीन वन मन्त्रालयले तत्कालीन नगर पञ्चायतलाई रेखदेख र संरक्षण गर्ने जिम्मा दिएको थियो । त्यसपछि श्रीनगरमा  वृक्षारोपण गरिएको थियो । नगर पञ्चायतले २६ जना वन हेरालु राखेर वनको संरक्षण गर्दैआएको थियो । 

श्रीनगरमा लिफ्टिङ गरेर खानेपानी, विद्युत, गार्डेन, बाल उद्यान, रजत जयन्ती स्तम्भ, श्रीनगर भ्यूटावर, बौद्ध स्तुपा, हनुमान मूर्ति, शौचालय, पिकनिक सेटहरू निर्माण, सडक मर्मत सम्भार कैलाश नगरदेखि श्रीनगर जाने मुख्य सडक पक्की, चौकीघर निर्माण, अतिथि गृह निर्माण यसबाहेक अन्य धेरै संरचना निर्माण तानसेन नगरपालिकाले गर्दैआएको छ । अहिले नगरपालिकाले संरक्षण र रेखदेख गर्ने ६ जना कर्मचारीलाई रोजगारी दिएको छ ।