• १० मंसिर २०८१, सोमबार

‘हामी सपना सानो देख्छौँ’

blog

काठमाडौँ, जेठ ९ गते ।  अन्तर्राष्ट्रिय चलचित्र मेला, महोत्सवमा नेपाली चलचित्रले प्रतिस्पर्धा र सहभागिता गर्ने क्रम बढ्दो छ । त्यसो त नेपालमै समेत काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल र नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल, ह्युम्यान राइट्स फिल्म फेस्टिभललगायत चलचित्र प्रवर्धनसम्बन्धी महोत्सव हुने गरेका छन् । 

नेपाली चलचित्रकर्मी पछिल्लो समय चलचित्र बजार खोज्दै अन्तर्राष्ट्रिय मञ्चमा पुगेका छन् । नेपाली चलचित्रको सानो आन्तरिक बजारमा लगानी उठाउन निर्मातालाई कठिन छ । चलचित्र निर्माणमा बढ्दो लगानी अनुसार चलचित्रको व्यापार नभएपछि नेपाली निर्माण सङ्कटमा पर्दै आएका छन् ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा लैजाने निर्देशकको जस नवीन सुब्बालाई छ । चलचित्र ‘नुमाफुङ’ ले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सुब्बालाई चर्चा दिलाएको थियो ।

निर्देशक मीन भामको कालोपोथीले अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड थाप्यो । चलचित्र रेड सुटकेसले मेला महोत्सवमा चर्चा कमायो । तथापि अन्तर्राष्ट्रिय महोत्सवमा लोकप्रिय चलचित्रलाई नेपाली दर्शकले रुचाएको पाइन्न । चलचित्र निर्देशक तथा सम्पादक शिव पुरीका अनुसार चलचित्रका अन्तर्राष्ट्रिय दर्शक र नेपाली दर्शकको चलचित्र रोजाइ र रुचि फरक भएकाले पनि यस्तो हुने गर्छ ।

सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ बाट नेपालमा प्रदर्शनको तयारीमा छ । टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल, गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा एसियन प्रिमियर, मामी मुम्बईमा साउथ एसियन प्रिमियर भएको सो चलचित्र दर्जनौँ महोत्सवमा प्रदर्शन भइसकेको छ । उहाँका अनुसार टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल जहाँ एक हप्ताको बिचमा अढाई लाख त दर्शक मात्र हुने रहेछन् । त्यो ठाउँको छ महिनाको जिडिपी यही महोत्सवले चलाइदिने रहेछ । संसारभरका ठुला चलचित्रकर्मीको जमघट हुने पनि यही महोत्सवमा रहेछ । हाम्रो चलचित्रका बारे त्यहाँ पत्रपत्रिकाहरूसँग अन्तर्क्रिया पनि भएको थियो । जब हाम्रो चलचित्र महोत्सवमा गएका बेला त्यस्तो अन्तर्क्रिया खासै हुँदैन्थ्यो । उहाँका अनुसार पहिलो पटक नेपाली चलचित्र पुगेको चाहिँ बेइजिङ महोत्सवमा हो । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा हाम्रो चलचित्र छानिएको थियो । उहाँले भन्नुभयो, “नेपालीले चलचित्र बनाउँछ भन्ने नै बेइजिङवासीलाई थाहा छैन रहेछ । नेपालमा पनि चलचित्र बन्छ र ? नेपालमा चलचित्र हल छ र ? भन्ने धारणा उहाँहरूको थियो । नेपाली चलचित्र नहुने होइन तर सबै ठाउँमा उस्तै तरिकाले नपुगेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार महोत्सवमा सहभागिता जनाएर प्रदर्शनमा ल्याइएको चलचित्र भन्नेबित्तिकै मनोरञ्जन खासै हुँदैन भन्ने बुझाइ गलत रूपमा रहेको छ । चलचित्रभित्र त्यसको प्रस्तुतिसँगै दुःख, पीडा, मनोरञ्जन सबै समेटिएको हुन्छ । चलचित्र विदेशी र स्वदेशी दुवै बजारका लागि सुहाउने बन्नुपर्ने धारणा निर्देशक सुब्बाको छ ।

विदेशी महोत्सवमा पुगेर वा स्वदेशमा व्यापारिक सफलता मात्र आर्जन गरेर चलचित्रको विकास हुँदैन । निर्देशक सुब्बाले भन्नुभयो, “अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नपुग्दासम्म हाम्रा बारेमा विदेशी चलचित्रकर्मीले कसरी थाहा पाउने ? महोत्सवमा हुने प्रदर्शनी, त्यहाँको पुरस्कारले हाम्रो निर्माण क्षमता र कथाबारे उनीहरूलाई अवगत गराउँछ । त्यस्तै घरेलु बजारमा राम्रा चलचित्र बनाउने दबाब पनि बढ्छ । त्यस कारण दुवैलाई ध्यानमा राख्दै चलचित्र बनाउनु जरुरी छ ।”

उहाँले थप्नुभयो, “हाम्रो चलचित्र क्षेत्रमा सपना देखाई एकदमै सानो भयो । बेइजिङ महोत्सवमा अक्षय कुमार अभिनित बलिउड चलचित्र ‘प्याडम्यान’ पनि प्रदर्शनीमा राखिएको थियो । उक्त चलचित्रले ६० मिलियन आरएमबी (छ करोड) कमाएको थियो । एउटा साधारण चलचित्रले यति धेरै पैसा कमाउँछ भने हामी नेपालीले कमाउन सक्दैनौँ र ? त्यसैले हामी सपना नै सानो देख्छौँ । घरेलु मैदानमा चल्छ चल्दैन यस्तै कुरामा हाम्रा दिन बितिरहेका छन् । त्यसैले पनि हामी सपनामा मात्र बाँचिरहेका छौँ ।” 

उहाँ चलचित्र ‘गाउँ आएको बाटो’ चल्नेमा ढुक्क हुनुहुन्छ । नुमाफुङ, कालोपाथी चलेकै हो हाम्रो नचल्ने भन्ने हुन्छ र ? चलचित्रमा गाउँमा मोटरबाटो भित्रिएसँगै आएको आधुनिक परिवर्तनले ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको निर्देशक सुब्बा बताउनुहुन्छ । उहाँका अनुसार गाउँमा सडक आएपछि बावुछोराका सम्बन्धमा आउने उतारचढाव पनि चलचित्रमा देखाइएको छ । उहाँले भन्नुभयो, “यो बावुछोराको सम्बन्धलाई नियाल्ने प्रयास हो । यो कथा पढेपछि मैले मेरो बाल्यकाल र बुबासँगको सामीप्यलाई महसुस गरेको थिएँ ।”

गाउँमा बाटोले विकाससँगै के के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत चलचित्रमा देखाइएको छ । उहाँले भन्नुभयो, “कहिलेकाहीँ गाउँ आउने बाटोले गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ । बसाइँसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ । हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ । यो हाम्रो गाउँघरको कथा हो ।”