• २ असोज २०८१, बुधबार

पर्यटन प्रवर्द्धन गर्न महोत्सव

blog

ताप्लेजुङमा पर्यटन महोत्सवमा मौलिक पहिरनमा सजिएका नागरिक । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ८ गते । 
कञ्चनजङ्घाको जिल्ला भनेर चिनिँदै आएको ताप्लेजुङको पर्यटन प्रवर्द्धन  तथा विकास गर्न महोत्सव आयोजना गरिएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन तथा विकास गर्ने मुख्य उद्देश्यले पाँचदिने ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ आयोजना गरिएको हो ।

‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन, ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा अवलोकन’ भन्ने नारासहित गत बिहीबारदेखि सोमबारसम्म सदरमुकाम फुङ्लिङमा पर्यटन महोत्सव आयोजना गरिएको हो । यहाँको घरेलु उत्पादन, मौलिक संस्कृतिको उजागर तथा प्रदर्शनसँगै पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुर्‍याउने उद्देश्यले पनि महोत्सव आयोजना गरिएको हो ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो हिमाल कञ्चनजङ्घा ताप्लेजुङमा छ । यस्तै कुम्भकर्ण (फक्ताङ्लुङ) लगायत आठ हजारभन्दा माथि उचाइ भएका आधा दर्जन बढी हिमाल पनि यस जिल्लामा छन् । फुङफुङ्गे झरना, सिँजेमा ताल, तिम्बुङपोखरी, सोदुपोखरी, ढङढङ्गे झरना, मिल्केजल्जले क्षेत्र, मेरिङ्देन झरना, सिन्धोलुङ झरना, खाँगे झरना, लोदेन क्षेत्रजस्ता दर्जनौँ पर्यटकीय स्थलहरू छन् ।

यसैगरी, ओलाङचुङ्गोला, दिकी छ्योलिङ गुम्बा, माङ्गेन्ना यक, सिरिजङ्गा माङ्हिम, सिदिङ्मा, पाथीभरा (मुक्कुमलुङ) धाम, सिद्धिडाँडाजस्ता थुप्रै ऐतिहासिक तथा धार्मिक स्थलहरू यस जिल्लामा छन् । पर्यटकलाई आकर्षित र केन्द्रित गर्ने प्रशस्त पर्यटकीय तथा ऐतिहासिक साथै पवित्र धार्मिक स्थलहरू भएर पनि आवश्यक प्रचारप्रसार र प्रवर्द्धन हुन नसक्दा पर्यटन विकास हुन सकेको छैन । यही अवस्थालाई दृष्टिगत गरी पर्यटन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

पर्यटन महोत्सव मूल आयोजक समिति संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लमाले जिल्लाको पर्यटन विकासमा महोत्सवले टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । पर्यटकीय स्थलहरूको प्रचारप्रसार भएको, विभिन्न जातजातिमा आधारित मौलिक संस्कृतिको प्रदर्शन भएको साथै अर्गानिक तथा घरेलु उत्पादनको प्रदर्शनजस्ता गतिविधि भएकाले महोत्सव पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी भएको प्रमुख लामाले दाबी गर्नुभयो ।

यता स्थानीय उत्पादनका सामग्रीसहित औद्योगिक प्रदर्शनी, मौलिक खाद्य परिकारजस्ता व्यापारिक स्टलहरू राखिएकाले व्यापारीको व्यापार प्रवर्द्धन पनि भएको छ । घरेलु उत्पादन तथा मौलिक परिकारसहित राखिएको स्टलले पर्यटकलाई थप आकर्षित गरेको पनि आयोजकले जनाएको छ । पर्यटन प्रवर्द्धन लागि प्रभावकारी तथा व्यापक प्रचार गर्न महोत्सवमा विभिन्न शैली अपनाइएको छ ।

परम्परागत सीप प्रदर्शन तथा खेलकुद गतिविधिका माध्यमबाट पनि पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन सकिने भएकाले महोत्सवमा त्यस्ता गतिविधिसमेत गरिएको थियो । जसअनुसार महोत्सवमा धूप बाट्ने, चोयाको डोको र पातको टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको छ । खेल गतिविधिअन्तर्गत डोको क्यारी रन (डोकोमा भारी बोकेर दौडिने), अन्तरपालिकास्तरीय भलिबल, खुला तथा महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो ।

त्यस्तै महोत्सवको प्रत्येक दिन स्थानीय तथा दीपक लिम्बू, रचना रिमाल, प्रताप दास जस्ता राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति थियो । आयोजक समितिका सदस्य सचिव देवराज गुरुङका अनुसार महोत्सवको आकर्षणका रूपमा साइक्लिङ रन (साइकल दौड) पनि आयोजना गरिएको थियो । महोत्सवमा करिब दुई लाख जनाले सहभागिता जनाएको आयोजकको दाबी छ ।