• १६ भदौ २०८१, आइतबार

समृद्ध नेपालका लागि महिलालाई सशक्त बनाउनुपर्छ : प्रमुख साह

blog

कार्यक्रममा सहभागी ।

धर्बेन्द्र झा 

धनुषा, जेठ ८ गते। जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले समृद्ध नेपाल बनाउनका लागि महिलालाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ। 

नेपाल सरकारको समन्वय युरोपियन युनियन र संयुक्त राष्ट्र सङ्घीय चारवटा संस्थाको आर्थिक सहयोगमा  लाइफ नेपाल र एनएफसिसीले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा यस्तो बताउनुभएको हो। 

सशक्त महिला, समृद्ध नेपाल पालिका स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले महिला र बालबालिकाको सशक्तीकरणका लागि जनकपुरधाम उपमहानगरपालिका सदैव तयार रहेको र यसका लागि पालिका स्तरबाट पनि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। 

उहाँले नेपालमा फोहर व्यवस्थापन चुनौती बन्दै गएको समयमा महिला सशक्त भएमा फोहर व्यवस्थापनमा उनीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय समाजकल्याण महाशाखाका प्रमुख देवकुमारी खत्रीले महिलालाई आर्थिक रूपमा र समाजिकरुपमा सशक्त गर्नुको साथै श्रमिक महिलाको सवालमा पनि कामकाज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।



कार्यक्रममा यु.एन.एफ.पिएका मधेश प्रमुख नरेन्द्र मिश्रले लैङ्गिक हिंसा रोकथामका लागि महिलाको चेतनाको स्तरमा वृद्धि हुनुपर्ने भन्दै आफ्नो संस्थाले चेतना रूपान्तरण र तालिम दिने कामकाज गरी रहेको जानकारी गराउनुभयो। 

कार्यक्रममा यु.एन.एफ.पिए, युनिसेफ, आइ.एल.ओ र यु.एन.ओमेनका प्रतिनिधिले महिला सशक्तीकरणका लागि मधेश प्रदेशमा गरिरहेका कामकाजको विषयमा प्रस्तुति प्रस्तुत गर्नुभएको थियो। २०७८ को जनगणना अनुसार जनकपुरधाम उपमहानगरपालिकामा ३७.५ प्रतिशत किशोरीको १५ देखि १७ वर्ष उमेरमा विवाह हुने गरेको छ। साथै ३२.६ प्रतिशत किशोरीहरूका १८ देखि २० वर्षमा विवाह हुने गरेको तथ्याङ्क छ। 

त्यसैगरी ६८.४ प्रतिशतले मात्रै जन्मदर्ता बनाउने गरेको र जनकपुरधामको ७६.६ प्रतिशत साक्षरतादर रहेको तथ्याङ्क युनिसेफका कामदेव खनालले प्रस्तुत गर्नुभएको थियो। 

जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साहको अध्यक्षतामा भएको कार्यक्रममा लाइफ नेपालका कार्यकारी निर्देशक सुरैत ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका कार्यकारी अधिकृत टेक राज पन्थी सहितकाले बालबालिका तथा महिलाको क्षेत्रमा भएका कामकाजका विषयमा आ-आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।