• १२ साउन २०८१, शनिबार

गाउँमै चामल किन्न पाउँदा स्थानीय हर्षित

blog

मुक्तीकोट खाद्यान्न बिक्री केन्द्रमा राखिएको चामल । तस्बिर सौजन्य: भरत रोकाया

शेरबहादुर सार्की

बाजुरा, जेठ ८ गते । जिल्लाको पुर्विउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिका –२ मुक्तीकोटका स्थानीय हर्षित भएका छन् । गत सोमबार देखि नेपाल खाद्यान्न कम्पनी लिमिटेडले स्वामिकार्तिक खापर गाउँपालिका –२ को मुक्तिकोट खाद्य बिक्री केन्द्रबाट चामल बिक्री वितरण गर्न सुरु गरेपछि यहाँका स्थानीयले लामो समयपछि गाउँमै चामल किन्न पाएको भन्दै हर्षित भएका हुन् ।

नेपाल खाद्य कम्पनी लिमिटेडले पाँच सय क्विन्टल चामलको टेन्डर गरी आपूर्ति गरेपछि गत सोमबार देखि मुक्तीकोट बिक्री केन्द्रबाट चामल बिक्री वितरण सुरु गरिएको नेपाल खाद्यान्न कम्पनी लिमिटेडले जनाएको छ ।

जिल्लाको सबै भन्दा बढी विकट तथा भोकमरी हुने यो गाउँका स्थानीयलाई सहज हुने गरी पछिल्लो समय नेपाल खाद्य कम्पनी लिमिटेड सँग सहकार्य गर्दै गाउँमै खाद्यान्न बिक्री केन्द्र स्थापना गरेर चामल वितरण गर्न सुरु गरेको स्वामिकार्तिक खापर गाउँपालिकाले जनाएको छ । 

चामल किन्नका लागि एक दिन पैदल हिँडेर पीलिचौर जानु पर्दथ्यो । बजारको चामल किन्दा चर्को मूल्य तिर्नु पर्दथ्र्यो । यती बेला गाउँमै सस्तो मूल्यमा चामल किन्न पाउँदा निकै हर्षित भएको  स्वामिकार्तिक –२ मुक्तीकोटकी स्थानीय मनकली विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ दैनिक ज्याला मजदुरी गरी पैसा कमाई गरे पनि यो भन्दा पहिला गाउँमा चामल नपाउँदा निकै समस्या हुने गरेको थियो । ” यती बेला स्थानीय सरकारको पहलमा गाउँमै खाद्यान्न बिक्री केन्द्र स्थापना गरी सस्तो मूल्यमा चामल किन्न पाएपछि त्यो समस्या हटेको विकले बताउनुभयो ।

मुक्तीकोट बाजुरा जिल्लाकै सबै भन्दा अति दुर्गम ठाउँको रूपमा चिरपरिचित छ । यहाँ झन्डै दुई सय भन्दा बढी दलित घर परिवारले बसोबास गर्दै आएका छन् । २०७९ साल साउन भदौमा अविरल बर्सातका कारण यो बस्तीको तलमाथि पहिरो गएको छ । 

यसरी बस्तीको तलमाथिबाट पहिरो जान थालेपछि अहिले यो बस्ती निकै जोखिममा परेको छ । यो बस्तीलाई  स्थानान्तरण गर्न अति आवश्यक देखिन्छ । उसो त यो बस्तीलाई स्थानान्तरण गर्नका लागि केही समय पहिला जिल्लाको सरकारी टोली समेत यो ठाउँमा पुगेर प्रत्यक्ष अनुगमन गरेको हो । तर पनि अहिले सम्म बस्ती स्थानान्तरण हुन सकेको छैन । 

खाद्यान्न अभावको भुमरीमा रहँदै आएको मुक्तीकोट बस्तीमा नेपाल खाद्य कम्पनी लिमिटेड सँग सहकार्य गरेपछि सोमबार देखि सो कम्पनीले मुक्तीकोट बिक्री केन्द्रबाट चामल वितरण गरेको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ नेपाल खाद्य कम्पनीले टेन्डरबाट चामल ढुवानी गरेको छ । यो चामललाई प्रति किलो ६६ रूपियाँ बिक्री गरेको छ ।” कोही कसैले यो मूल्य भन्दा बढीमा बिक्री वितरण गरिएको पाइएमा सो व्यक्ति वा बिक्रेतालाई आवश्यक कानुनी कारबाही गरिने अध्यक्ष रोकायाले बताउनुभयो ।