• १३ साउन २०८१, आइतबार

जिल्ला अस्पताल हुम्लामा औषधी अभाव

blog

औषधि । फाइल तस्बिर

सिमकोट, (हुम्ला), जेठ ७ गते । हुम्लाको एक मात्र जिल्ला अस्पतालमा औषधी अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधी अभाव हुँदा समस्या भइरहेको छ । 

१५ शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधी अभाव हुँदा चिकित्सकले लेखेका औषधी निजी मेडिकलबाट किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । पानी नपर्दा यो समय अस्पतालमा बिरामीको चाप बढेको छ । रुघाखोकी, झापापखालालगायत रोगका औषधी वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निः शुल्क औषधीसमेत नभएको खार्पुनाथ गाउँपालिका-३ रायाका धनबहादुर टमटाले गुनासो गर्नुभयो ।

बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा बसेको भन्दै चिकित्सकले लेखेको औषधी निजी मेडिकलबाट किन्नु परेको उहाँले बताउनुभयो । चार हजारसम्मको औषधी निजी मेडिकलबाट किनेको भन्दै अस्पतालमा भिटामिनसमेत नभएको टमटाले गुनासो गर्नुभयो । अस्पतालको औषधी वितरण कक्षमा जाँदा औषधी नपाएर निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका-२ ठेहेका झप्री सुनारले बताउनुभयो । 

निजी मेडिकलबाट औषधी किन्न आर्थिक अवस्था कमजोर भएकाले समस्या भइरहेको उहाँको भनाइ छ । वैशाख यतादेखि अस्पतालमा बिरामीको चाँप बढेको (मेडिकल अफिसर) तथा डाक्टर सुर्जनकुमार सिंहले बताउनुभयो । उहाँको अनुसार आइतबार र सोमबार मात्रै ८०-८० जनाले सेवा लिएका छन् । अन्य दिनमा ५० जना भन्दा कम नहुने डा.सिंहले जानकारी दिनुभयो । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उहाँको भनाइ छ ।

गाउँघरबाट एक-दुई दिनको पैदल हिँडेर सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेका उहाँले बताउनुभयो । डा.सिंहले भन्नुभयो, “अस्पतालमा औषधीको अभाव छ । इमर्जेन्सी, सघन उपचार कक्ष सेवाका लागि भर्ना भएका बिरामीले समेत उल्टी रोक्ने औषधी नभए गुनासो गरिरहेका छन् ।” बहिरङ् (ओपिडी) मा औषधी अभाव रहेको उहाँले बताउनुभयो । अस्पतालमा औषधीको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले स्वीकार गर्नुभयो । 

हवाई उडान नभएकाले खरिद गरेर हुम्ला ल्याइने औषधी नेपालगन्जमा थन्किएकाले समस्या भएको उहाँले जानकारी दिनुभयो । अबको एक/दुई दिनमा हवाई उडान सञ्चालन भएमा नेपालगन्ज थन्किएका औषधी ढुवानी भएर यहाँ आइपुग्ने प्रमुख सिंहले बताउनुभयो । रासस