• १३ असोज २०८१, आइतबार

शैक्षिक सुधार गर्न प्रधानाध्यापकसँग सम्झौता

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ ७ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले ४५ वटा विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको छ । शैक्षिक क्षेत्रमा सुधारका लागि गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका शिक्षा अधिकृत भूपालसिंह विष्टका अनुसार प्रधानाध्यापकहरूसँग भएको बैठकपश्चात् सो सम्झौता गरिएको हो । सामुदायिक विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धिमा थप सुधारका लागि ३९ बुँदे सम्झौता गरिएको उहाँले बताउनुभयो । सम्झौतापत्रमा गाउँपालिकाको समग्र शैक्षिक सेवा प्रवाहलाई नतिजामुखी बनाई विद्यालयमा तोकिएको गुणस्तर, परिणाम, समय र लागत प्रभावकारी बनाउने कुरा उल्लेख गरिएको छ । 

विद्यालयको वार्षिक कार्यतालिका निर्माण र कार्यान्वयन, गुणस्तरीय शैक्षिक कार्य तथा वातावरण निर्माण, कक्षा अवलोकन, तथ्याङ्क तयार, सुशासनमैत्री गतिविधि सञ्चालन, नियमित बैठकलगायतका बुँदामा सम्झौता गरिएको छ । 

त्यसै गरी सम्झौतापत्रमा हरित विद्यालय र बालमैत्री शिक्षण सिकाइ, जङ्क फुडरहित खाजा खुवाउने, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७७ का प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने/गराउने, सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम विद्यालयको सामाजिक परीक्षण गर्ने/गराउने सम्झौतामा उल्लेख गरिएको छ । 

त्यसै गरी विद्यालयमा निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउने र विद्यालयका प्रत्येक शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्नेलगायतका विषय उल्लेख गरिएको छ । 

सम्झौतापछि सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले कार्यसम्पादन सम्झौताका सबै बुँदा अक्षरशः पालना हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षा समिति र स्थानीय सरकारले गरेका निर्णयको पालना गर्न पनि निर्देशन गर्नुभयो ।